२०८१ भित्र सडक बालबालिका मुक्त देश बनाउने अभियानमा छौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल भित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने अठोट लिएको बताएका छन् ।
६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सडक बालबालिका मुक्त देश बनाउनका लागि सरकारले ठूलो अभियानसहितको अठोट लिएको बताए । उनले बालबालिकाहरुलाई सडकमुक्त गरउन आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेलादेखि नै अभियान नै सञ्चालन गरेको र त्यसलाई फेरि निरन्तरता दिएको पनि स्मरण गरे ।
प्रधानमन्त्री ओलीले बालबालिकाहरुले गरिवी झेल्नुपर्ने अवस्थामा अन्त्यका लागि सरकारले पर्याप्त ध्यान दिएको पनि बताए। विश्वको गरिवी यथावत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई त्यस अवस्थाबाट मुक्त गराउन सरकारले पर्याप्त दिनुपरेको पनि स्पष्ट पारे। उनले बालबालिकाहरु वन्धन र नियन्त्रणमा नभइ उन्मुक्तिमा बाँच्न पाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने,‘नेपाल सरकारले यस वर्ष भित्र विक्रम संवत २०८१ सालभित्र सडक बालबालिका मुक्त देश बनाउने भनेर एउटा ठूलो अठोट र अभियान थालेको छ । यो अभियान म प्रधानमन्त्री भएको बेला पहिला पनि मैले अगाडि बढाएको थियो । र, अहिले फेरी पनि यस अभियानलाई अगाडि बढाइएको छ । सन्तुलित आहार, समय समयमा स्वस्थ रहनु पुग्नेगरी त्यस्तो आहारा प्राप्त गर्नु बालबालिकाको राईट हो ।’ ‘न्यानो कपडा लगाउन पाउनु वा मौसम अनुसारको कपडा लगाउन पाउनु, जुत्तासहित हिँड्न पाउनु, राम्रा आवासमा बस्न पाउनु, राम्रो माया, ममता पाउनु अनि उनीहरुले शिक्षा, राम्रो शिक्षा प्राप्त गर्नु, गुणस्तरीय शिक्षा प्राप्त गर्नु, स्वस्थ रहन पाउनु, विरामी परिहाले स्वास्थ्य उपचार पाउनु उनीहरुको हकको कुरा हो ।’ उनले भने ।