मनहरीका अध्यक्ष कालाखेतीले बनाईदिए एकल महिलालाई घर
मकवानपुर । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवास विहिन एकल महिलालाई घर बनाइदिएका छन् ।
उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिक तथा सेवा सुविधा वापतको रकमबाट मनहरी-५, बसन्तपुरकी सोनी राईलाई पक्की घर बनाइदिएका हुन् ।
उक्त निर्माण सम्पन्न घर मंगलबार गाउँपालिका अध्यक्ष कालाखेतीले राईलाई हस्तान्तरण गरेका छन् ।
लामो समयदेखि राई मनहरी–५ बसन्तपुरमा आवास विहिन अवस्थामा रहँदै आइरहेकी थिइन् । राईको परिवारमा उनीबाहेक कोही नरहेको बताउँछिन् । करिब ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएको उनले बताइन् ।
निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धता अनुसार कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकमको कोष बनाएर जम्मा गर्दै आएका छन् । आगामी दिनमा पनि समस्यामा परेका पालिकाबासीको सेवामा उक्त कोषबाट रकम खर्चिने प्रतिवद्धता उनले गरेका छन् ।
उक्त कोषबाट राईको घर निर्माण गर्न २ लाख १५ हजार रुपैयाँ खर्च लागेको अध्यक्ष कालाखेतीले बताए ।