बागमती र मधेसका श्रम मन्त्री बिच अनुभव आदानप्रदान

अखबार हब
२०८१ आश्विन ८, मंगलवार २१:२६

हेटौंडा। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन र मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायबीच भेटघाट तथा अनुभव आदानप्रदान भएको छ।

मंगलबार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। श्रम मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा मन्त्री महर्जनको अध्यक्षता तथा मधेश प्रदेशका श्रम मन्त्री रायको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा दुई प्रदेशका मन्त्री, मन्त्रालयका सचिव तथा मातहत कार्यालयका प्रमुखहरूबीच आफ्ना कार्य अनुभव आदानप्रदान गरिएको थियो।

कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव बलराम निरौलाले हाल मन्त्रालयले गरेका गतिविधि तथा आगामी योजनाको बारेमा जानकारी गराएका थिए। जसमा मन्त्रालय र मातहतका कार्यालयहरुको जानकारी, राजस्व संकलन, डिजिटलाइजेशन लगायतका विषयमा प्रस्तुति गरेका थिए। त्यस्तै मन्त्रालयले सचेतनामूलक कार्यक्रम गरिरहेको, सवारी चालक अनुमतिपत्रमा देखिएको समस्या समाधानमा लागिपरेको र यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा मन्त्रालय तत्पर रहेको जानकारी गराए।

त्यसैगरी मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायले आफूहरू बागमती प्रदेशले गरेका गतिविधिहरु हेर्दै आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको बताए। साथै लाइसेन्स र यातायात क्षेत्रमा पैसा नभई कुनै काम हुँदैन भन्ने धारणालाई जनताबाट चिर्न र त्यस्ता समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गरे।

साथै बागमती प्रदेशका श्रम मन्त्री महर्जनले हाल प्रयोगमा रहेको सर्भर डाउन हुने समस्या समाधानमा आफू लागिपरेको बताएका छन्। सर्भरमा समस्या हुँदा कार्यालयमा काम गर्न समेत समस्या हुने गुनासो आएको मन्त्री महर्जनको भनाइ थियो। हाल भोगिरहेको विभिन्न प्रकारका समस्या समाधानका लागि अनलाइन प्रणालीमा जानुपर्ने आवश्यकताको आधारमा मन्त्रालय अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको बताए। मन्त्रालय मातहतको यातायात सम्बन्धी कामहरु अनलाइन प्रणालीमा लैजाँदा सेवाग्राहीले घरमै बसेर सम्पूर्ण काम गर्न सक्ने उनको भनाइ रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*