पहिरोमा परेर एन्फा सिस्नेरी एकेडेमीका पाँच विद्याथी पुरिए, तीनको शव फेला पर्यो, दुई अझै बेपत्ता
मकवानपुर । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन ।
बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए ।
‘कुलेखानीको पानी ओभर फ्लो भयो । पाँच विद्यार्थीले छोटो बाटो रोजेर हिडे । तर, उनीहरु नै हिलो माटोमा परे । त्यसपछि बगाएको रहेछ,’ संयोजक ठकुरीले भने ।
उनको अनुसार हराएका पाँच विद्याथी मध्ये तीन जनाको शव फेला परेको छ । थपको खोजी कार्य जारी छ ।
एन्फाले गतवर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो । थप विद्याथी भने सकुशल रहेको ठकुरीले जनाएका छन् ।
अहिले देशैभर बाढी र पहिरोले जनजिवन प्रभावित भएको छ ।