बागमतीका मन्त्रीको १५ दिनको तलब विपद् कोषमा
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । हेटौंडामा शनिबार बसेको मन्त्रीहरुको बैठकले विपद् प्रभावित नागरिकहरुका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुनः स्थापनाको लागि उक्त रकम खर्च गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो । प्रदेश विपद् कोषमा १३ मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार ४४५ रुपैयाँ जम्मा हुनेछ ।
बैठकले प्रदेशको क्षतिको यकिन विवरण तयार गरी उपलब्ध गराउन प्रदेश नीति तथा योजना आयोगलाई निर्देशन दिएको छ । विषयगत मन्त्रालय र क्षेत्रका आधारमा क्षतिको विवरण संकलन गरी प्रतिवेदन बुझाउन आयोगलाई निर्देशन समेत दिइएको छ ।