रहस्यमय बन्दै हेटौंडा सिमेन्ट उद्योगको तार चोरी प्रकरण, अझै पत्ता लागेन चोर

अखबार हब
२०८१ कार्तिक ५, सोमबार २०:०६

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरी भएको करिब दुई हप्ता बित्दासमेत घटना रहस्यमयी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको निर्देशनमा उद्योग प्रशासनले छानबिन समिति बनाएर काम गरे पनि घटनाको यर्थाथ विषय सार्वजनिक नहुनुले यस विषय प्रकरण अझै रहस्मयी बन्दै गएको हो ।

हेटौंडा–९ स्थित लामसुरेमा रहेको सरकारी स्वामित्वको उद्योगबाट असोज २२ गते राति करिब एक सय मिटर तामाको तार चोरी भएको थियो । उक्त विषयमा प्रहरी र प्रशासनले एक हप्तापछि जानकारी प्राप्त भएको जनाएको थियो । तर, घटनाको विषयमा प्रहरीकै कुरा बाझिएको छ । तार चोरी भएको भोलिपल्ट बिहान उद्योगभित्र रहेको मन्त्रीको क्वार्टरका सुरक्षा गार्डले घटनाको विषयमा इलाका प्रहरी कार्यालय पशुपति नगरलाई जानकारी गराएको बताए पनि कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक विमलाकुमारी कठायतले आफूलाई खबर नभएको बताएकी छन् ।

प्रहरी स्रोतका अनुसार उद्योगभित्रै रहेको वाग्मती प्रदेशका मन्त्री क्वार्टरको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक शिवमंगल चौधरीले इलाका प्रहरी कार्यालय पशुपति नगरलाई घटनाको विषयमा जानकारी गराएका थिए । तर, प्रहरी निरीक्षक कठायतले घटनाको विषयमा आफूले जिल्ला प्रहरीले भनेपछि मात्र थाहा पाएको बताएकी छन् । ‘मैले लिखित र मौखिक सूचना पाएकी थिइनँ । जिल्लाबाट भनेपछि मात्र थाहा भएको हो’, प्रहरी निरीक्षक कठायतले हालसम्म पनि उद्योग प्रशासनले आफूहरूलाई औपचारिक रूपमा जानकारी नगराएको बताइन् । उनले उद्योगको गार्डको कमीकमजोरीले घटना भएको र यस विषयमा जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको बताइन् ।

प्रहरी निरीक्षक कठायतले जिल्लाले अनुसन्धान गरिरहेको बताए पनि मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले कठायतले नै घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । ‘पशुपति नगरले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । हालसम्म कोही पनि पक्राउ परेको छैन ।

हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले उद्योग प्रशासन र सुरक्षा गार्ड टोलीले घटनाको विषयमा प्रहरीलाई जानकारी गराएको भनेर आफूलाई तत्कालै खबर गरेको बताए । उद्योगमा काठमाडौंको बज्र सेक्युरिटी कम्पनीले सुरक्षा प्रदान गर्दै आइरहेको छ ।

यता, प्रजिअ चिलुवालले सात दिनभित्रमा तार चोरी घटनाको प्रतिवेदन पेस गर्न उद्योग प्रशासनलाई निर्देशन दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालयमा उद्योगका महाप्रबन्धक बसन्त पाण्डेलाई बोलाएर घटनाको विषयमा प्रतिवेदन तयार पार्न र प्रहरीलाई सहयोग गर्न निर्देशन दिएका छन् । ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहकै होला । अब उद्योगको प्रतिवेदन आएपछि सबै विषय थाहा हुन्छ’, प्रजिल चिलुवालले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*