मकवानपुरमा ९ बजे पछि देउसी, भैलो खेल्न नपाईने
हेटौंडा । मकवानपुरमा बेलुका ९ बजे पछि देउसी, भैलो खेल्न नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा देउसी, भैलो र मनोरन्जन गर्न बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको हो ।
जिल्ला सुरक्षा समिति मकवानपुरको मंगलबार बसेको बैठकले देउसी भैलो खेल्दा होस् वा अन्य मनोरन्जनका कार्यक्रम गर्न समय निर्धारण गर्ने निर्णय गरेको छ ।
राति अबेरसम्म देउसी भैलो खेल्दा होस् वा मनोरन्जनात्मक कार्यक्रम गर्दा छरछिमेकलाई असर पर्ने र सार्वजनिक जीवनमा असर पर्ने भएकाले बेलुका ९ बजेसम्म मात्र उक्त कार्य गर्न/गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेर सचेत गराएको हो ।
प्रजिअ तीर्थराज चिलुवालले हस्ताक्षर गरेको उक्त सूचनामा नेपाल सरकारले प्लास्टिकजन्य फुलका गुच्छा उत्पादन, आयात, बिक्री वितरण गर्न रोक लगाएकाले उक्त कार्य नगर्न समेत उल्लेख गरेको छ । उक्त कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।