हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एकको मृत्यु, पाँच घाइते

अखबार हब
२०८१ कार्तिक २७, मंगलवार १०:२५

हेटौँडा । हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएको हो ।

घटनामा परेर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् । टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार मंगलबार राति १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हो ।

टायर विस्फोटबाट उनको टाउको र शरिरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० न.को ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिकको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा ११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का लक्ष्मण थापा घाइते भएका छन् ।

घाइतेमध्ये मधेश प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिलअस्पतालमा उपचार भईरहेको छ यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*