सिस्नेरीमा ज्यान गुमाएका खेलाडीका अभिभावकले एन्फा पदाधिकारीलाई चार घण्टा थुने

अखबार हब
२०८१ मंसिर ११, मंगलवार ११:३७

हेटौंडा। १२ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोमा पुरिएर ज्यान गुमाएका ६ बाल खेलाडीका परिवारले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलगायतका पदाधिकारीलाई चार घण्टा घेरेर आफ्नो असन्तुष्टि पोखेका छन् ।

पीडित परिवारले एन्फाका पदाधिकारीहरूलाई दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म घेरेका हुन् । महासचिव राईसहित एन्फाका प्राविधिक निर्देशक हरि खड्का, मकवानपुर जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य टीका लामा र विकासनारायण श्रेष्ठले हेटौँडामा रहेको एन्फा एकेडेमी सञ्चालनको सम्झौता गर्न पुगेका थिए । हेटौँडा एकेडेमीमा एन्फाका पदाधिकारी आएको थाहा पाएपछि ६ जना बाल खेलाडीका अभिभावकहरूले उनीहरूलाई चार घण्टा घेराउ गरी आफ्ना माग पूरा गर्न दबाब दिएका थिए ।

एन्फाका महासचिव राई र प्राविधिक निर्देशक खड्काले मकवानपुरको इन्द्रसरोवर २ मा रहेको सिस्नेरीको एन्फा एकेडेमीलाई हेटौँडा एकेडेमीमा स्थानान्तरण गर्ने सहमति भएको जानकारी दिएका छन् । मृतक बाल खेलाडीहरूका सालिक निर्माण गर्ने र उनीहरूको नाममा प्रतियोगिता सञ्चालन गर्ने विषयमा यसअघि भएको सहमतिलाई छिटो कार्यान्वयन गर्ने एन्फाले प्रतिबद्धता गरेको छ । यसअघि, एन्फा पदाधिकारीहरूले एकेडेमीका छलफल गरिरहँदा पीडित अभिभावकले आफूहरूको माग पूरा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरीसमेत परिचालन गरिएको थियो।

सिस्नेरीबाट हेटौँडामा सारिए विद्यार्थी
एन्फा र पीडित परिवारबिच भएको सहमतिअनुसार सोमबारै सिस्नेरी एकेडेमीमा रहेका १८ जना बाल खेलाडी हेटौँडा एकेडेमीको होस्टेलमा सारिएको एन्फाका प्राविधिक निर्देशक खड्काले जानकारी दिएका छन् । सिस्नेरी एकेडेमीमा रहेका २२ जना खेलाडीले हेटौँडा एकेडेमीमा बसेर अध्ययन र प्रशिक्षण गर्ने उनले बताए । एन्फाले नै सहुलियत शुल्कमा अध्ययन गराउने भएको छ । ‘सिस्नेरी घटनापछि एन्फा एकेडेमीमा रहेका विद्यार्थीको फुटबल प्रशिक्षणसहित पढाइमा अवरोध पुगेको हुँदा चाँडो व्यवस्थापन गर्छौँ,’ खड्काले भने ।

एन्फाले ‘बी’ डिभिजन लिग आयोजनाको तयारी गरिरहँदा १० क्लबले असहमति जनाएका छन् । ‘बी’ डिभिजन लिगमा आबद्ध १० क्लबले सोमबार संयुक्त रूपमा विज्ञप्ति निकाल्दै १३ माघबाट गर्ने भनेको लिगको निर्णयमा ध्यानाकर्षण भएको जनाएका छन् । ६ मंसिरमा १४ मध्ये चार क्लबका पदाधिकारीबिचको छलफलमा एन्फाले लिगको मिति घोषणा गरेको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा बसेको बैठकमा बाँसबारीसँगै श्रीकुमारी, श्री भगवती र प्लानिङ ब्वाइज मात्रै सहभागी भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*