हेटौंडा-१२ उपनिर्वाचनः लोकप्रियता जाँच्दै एमाले काँग्रेस, विरासत जोगाउने ध्याउन्नमा माओवादी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१२ मा वडाध्यक्ष पदको निर्वाचनमा आफ्नो दलको उम्मेदवारका लागि मत माग्न राजनीतिक दलका नेता–कार्यकर्ताले घरदैलो गरिरहेका छन् ।
यस वडामा माओवादी केन्द्र विरासत जोगाउन कस्सिएको छ भने सत्तारूढ कांग्रेस र एमालेले लोकप्रियता मापनका आधार बनाएका छन् । राप्रपा, रास्वपा र एकीकृत समाजवादीले पनि उपनिर्वाचनबाट आफ्नो दलको हैसियत नाप्न खोजेका छन् ।
२०७९ मा वडाध्यक्षमा निर्वाचित माओवादीका ललित घलान जिल्ला समन्वय समिति प्रमुख भएपछि हेटौंडा–१२ मा उपनिर्वाचन हुन लागेको हो । सत्तारूढ कांग्रेस र एमालेले गत निर्वाचनमा वडाध्यक्ष पदमा हार व्यहोरेका उम्मेदवारलाई नै अहिले पनि अघि सारेका छन् । कांग्रेसबाट अर्जुनप्रसाद तिवारी र एमालेका राजेश नगरकोटीले उम्मेदवारी दिएका हुन् । माओवादीबाट रविन प्रधान उम्मेदवार छन् । आशाबीर वल माओवादी परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका छन् । राप्रपाका प्रेम भ्लोन लामा वडाध्यक्षको दौडमा छन् ।
२०७९ मा माओवादीका घलान १३ सय ७१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १३ सय ४० र एमालेका राजेश नगरकोटीले १३ सय २५ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा पनि यिनै तीन दल बीच कडा प्रतिस्पर्धा थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यस वडामा ३ हजार ८७८ पुरुष र ४ हजार १७४ महिला मतदाता छन्, २०७९ मा ६ हजार ४६५ मतदाता थिए । त्यतिबेला ६२ प्रतिशतको हाराहारी मत खसेको थियो । वडाको निर्वाचन भए पनि दलका जिल्ला स्तरका नेता–कार्यकर्ता यस वडामा केन्द्रित भएका छन् ।