हेटौंडा – १२ काङ्ग्रेसले जित्दा , उपमहानगरमा शुन्य बन्यो माओवादी

अखबार हब
२०८१ मंसिर १७, सोमबार ०७:३१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनबाट नेपाली कांग्रेसले जित निकालेसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ ।

उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो ।

यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ मा पनि जितेका हुन् । तर वडाको ४ सदस्य एमालेबाट विजयी भएका थिए । घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।

लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । उनले २०६३ मत ल्याए । माओवादीका उम्मेद्वार युवा उमेरका रविकुमार प्रधानले १५६० मत ल्याएर पनि पराजित भए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए ।

बागमती प्रदेशको राजधानीसमेत रहेको एकमात्र उपमहानगर हेटौंडामा गत २०७९ को निर्वाचनमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन थियो ।

वडा अध्यक्षमा पनि सबै दल प्रतिस्पर्धी थिए । मेयरमा नेकपा एसकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँले जिते ।

मेयरमा एमालेका अनन्त पौडेल र राप्रपाका दिपक सिंह प्रतिस्पर्धामा थिए । सिंह मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा जितेर हाल संसदको पुर्वाधार विकास समिति सभापति छन् । एमालेका पौडेल संविधानसभा सदस्य हुन् ।

गत स्थानीय तह निर्वाचनबाट हेटौंडाको १९ वटा वडामा एमालेले ९ वटा वडा र कार्यपालिकामा ५६ सदस्यसहित बहुमत जोगाउन सक्यो ।

कांग्रेसले उपनिर्वाचनमा जित निकालेर एमालेसँग बराबर ९ वडा जित्न सफल भएको छ । नेकपा एसले १ वटा वडा जितेको थियो । हेटौंडामा प्रत्यक्ष निर्वाचनबाट हालसम्म गैरकम्युनिष्टले नेतत्व जित्न सकेका छैनन् ।

अब हेटौंडामा कांग्रेससँग १, २, ३, ६, ७, ८, १२, १६ र १७ नम्बर वडा अध्यक्ष छन् । एमालेसँग ४, ५, ९, १०, ११, १३, १४, १५, १८ र १९ नम्बर वडामा अध्यक्ष छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*