हेटौंडाको भैरवडाँडामा ‘तिरुपति बालाजी दिव्यधाम’ निर्माणको शिलान्यास

अखबार हब
२०८१ मंसिर २३, आईतवार २०:०८

हेटौंडा । धार्मिक तथा पर्यटन प्रवद्र्धनको पवित्र उद्देश्य राखेर हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडास्थित भैरबडाँडा (भागवतपुर) मा श्री तिरुपति बालाजी दिव्यधामको निर्माणका लागि शिलान्यास गरिएको छ ।

भैरबडाँडा र थाकलडाँडा जाने बाटोको संगमस्थलमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा सिलान्यास गरेका हुन् । श्री तिरुपति बालाजी दिव्यधाम नेपालले जग्गा खरिद गरी निर्माण प्रक्रिया सुरु गरेको हो ।

दिव्यधामको सिलान्यास गर्दै मुख्यमन्त्री लामाले नेपालमा धार्मिक महत्वका क्षेत्रहरु धेरै रहेकोले ती क्षेत्रहरुको उजागर गरेर प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न सकिने बताए ।

बागमती प्रदेशको राजधानीमा बन्न लागेको यो धाम सबैले एकभक्त भएर काम गरेमा यसको निर्माण सोचेकै समयमा हुनेमा दुईमत नहुने मुख्यमन्त्री लामाले बताए । यसवर्ष बजेट बनिसकेकोले आगामी वर्ष दिव्यधाम निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।

आचार्य अनन्त श्री विभूषित बैकुण्ठबासी १००८ स्वामीश्री जनार्दनाचार्यज्यूको संकल्प तथा उत्तराधिकारी स्वामी अनन्त श्रीविभूषित स्वामी चतुर्भुजाचार्य (चुडामणिजी) महाराजज्यूको सानिध्यमा भएको कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले दिव्यधामको परिकल्पना धेरै राम्रो भएको र निरन्तर इमान्दारितापूर्वक मेहनत गरे निर्माण सम्भव भएको बताए ।

दिव्यधाम निर्माणमा स्थानीय जनता, वन समितिहरु, स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले परियोजना अन्तर्गत्का कार्यहरुलाई छुट्टाछुट्टै निकायसंगको सहकार्यमा संगसंगै अगाडि बढाउन सुझावदिए ।

दिव्यधाम निर्माणको लागि जग्गा उपलब्ध गराउनुहुने हेटौंडा–२ निवासी अशोक शाक्यले आफ्नो सहयोगले धाम निर्माण हुने भएपछि जग्गा उपलब्ध गराएको बताए । उनले आगामी दिनमा धाम निर्माणको लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा उनलाई विशेष सम्मानपत्रसहित सम्मानितगरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलानले सबै जातजाति, भाषाभाषी, राजनीतिक दल तथा संघसंस्थाको सहयोगमा दिव्यधाम निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले दिव्यधाम निर्माण गर्न समितिले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले तिरुपति बालाजी दिव्यधाम निर्माणको लागि हेटौंडा उपमहानगरपालिका छनौट भएकोमा खुशि व्यक्त गरे । उनले व्यक्तिगत प्रयासमा थालिएको दिव्यधाम निर्माणको कार्यमा उपमहानगरपालिकाले सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय सरकारले आफ्नो क्षेत्रको विकासका सबै पाटोमा ध्यान दिनुपर्नेमा हेटौंडा उपमहानगरपालिका त्यसमा सक्रिय रहेको बताए ।

कार्यक्रम संयोजक तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले विकासका पूर्वाधारहरुको कामबाट मात्र समग्र नगरको विकास नहुने भन्दै अब धार्मिक पर्यटनको माध्यमबाट हेटौंडालाई विश्वमै चिनाउने अभियान सुरु गरिएको बताए । उनले श्री तिरुपति बालाजी दिव्यधाम निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाउने बताए ।

दिव्यधामअन्तर्गत् उक्त क्षेत्रमाश्री तिरुपतिबालाजीको मन्दिर, पञ्चमुखीहनुमानको मूर्ति, गोपुर, ज्येष्ठ नागरिक केन्द्र, बालउद्यान, योग साधनाभवन, जडिबुटी उद्यान, शहीद स्मारकदेखि नकौलीहुँदै मकवानपुरगढीसम्म केबुलकार, स्वास्थ्य केन्द्र, बसपार्क, प्रहरी घर, तीर्थयात्री निवास, विवाह मण्डप, धार्मिक सांस्कृतिक परिवेश झल्कने तिरुपति नगरी बस्ती,सुरु·मार्गसहितको सालग्राम भगवान, संकल्पकर्ता स्वामी जनार्दनाचार्यजीको मूर्ति निर्माण गर्ने, तिरुपति सिसमहल, हवन मण्डल, पुष्करिणी तलाउनिर्माण, तिरुपति गौशाला, तिरुपति चरणपादुका निर्माण गर्ने योजना रहेको परिकल्पनाकार धर्मदत्त घिमिरेले जानकारी दिए ।

कार्यक्रममा अरुणराज सुमार्गी, लक्ष्मीनारायण मन्दिर लक्ष्मीपुरका मठाधीस बरदाराजाचार्य, लक्ष्मीनारायण मन्दिर न्युरेनीका मठाधीस स्वामीजनार्दनाचार्य, लक्ष्मी बैकुण्ठनाथ मन्दिर भरतपुरका स्वामीजगन्नाथाचार्य, श्रीवैष्णव युवा परिषद् नेपालकाअध्यक्ष स्वामी लक्ष्मणाचार्य, श्रीवैष्णव परिषद् नेपालका उपाध्यक्ष कृष्णप्रपन्न गौतम, विश्वहिन्दु महासंघ केन्द्रीय सदस्य फूलनाथ निउरे, मारवाडी एसोसिएसन मकवानपुरका अध्यक्ष राजु तायललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*