मन्त्रीलाई ४ र सचीवलाई ५ दिन हेटौंडामै बस्न मुख्यमन्त्रीको उर्दी
हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् ।
सरकारको नीति तथा कार्यत्रम र बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदा विकास निर्माणले गति लिन नसकेपछि मुख्यमन्त्रीले मंगलबार प्रदेशको राजधानी हेटौंडामै रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्रालयगत रुपमा चालु आर्थिक वर्ष २०८१\०८२ को पछिल्लो महिनाको प्रगतिको समीक्षालाई सम्बोधन गर्दै उनले मन्त्रालयका सचिवहरुलाई पनि हप्ताको ५ दिन कम्तीमा हेटौंडामा रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
‘अत्यावश्यक कामबाहेक हेटौंडा नछाड्न र मन्त्रालयमै रहेर काम गर्न मुख्यमन्त्रीबाट हामीलाई निर्देशन भएको छ ।’
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सरकारले बजेट खर्च बढाउन र तीव्ररुपमा योजना सम्पन्न गर्न निर्देशन भएको बताए । ‘पछिल्लो समय मन्त्रालयगत रुपमा खर्च कमजोर भयो भन्ने चौतर्फी आवाज उठिरहेको छ ।
विशेषगरी बहुवर्षे योजनाका कारण सोचेअनुसार मन्त्रालयगत रुपमा खर्च कमी भएको निष्कर्षमा हामी पुगेका छौं । अब खर्च बढाउनका लागि बहुवर्षे योजनाको प्रगति र समयमै सम्पन्न गर्न आवश्यक काम गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ,’ मन्त्री लामिछानेले भने ।
१४ वटा मन्त्रालय रहेको वाग्मती प्रदेशमा समीक्षा वैठकमा चार जना मन्त्री सहभागी थिएनन् । बैठकमा प्रदेशमा रहेको सबै सचिवहरुको उपस्थिति रहेको थियो ।
पछिल्लो समय मन्त्रीहरु विभिन्न कार्यक्रमको उद्घाटन र आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएर राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि प्रदेश सरकारको चौतर्फी आलोचना भइरहेको छ ।