चाडपर्वहरू हाम्रा अमूल्य गहना हुन् : प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज सोमबार परेको तमु ल्होसारको अवसरमा शुभकामना व्यत्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले आज शुभकामना सन्देश प्रकाशन गर्दै नेपालको खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने तमु अर्थात् गुरुङ समुदायको नयाँ बर्षको रूपमा मनाइने ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना व्यत्त गरेका हुन् ।
‘बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन् ।
तमु ल्होसार पर्व संस्कृति रक्षक गुरुङ समुदायले बडो उत्साहका साथ मनाउँदछन् । परम्परागत भेषभुषाले सजिएर, इष्टमित्रसँग भेटघाट, खानपिन, नाचगान र शुभकामना आदानप्रदान गरेर गुरुङ समुदायले नयाँ सम्वत शुभारम्भको उत्सव मनाउँने गर्दछन् ।
‘चाडपर्वहरू हाम्रा अमूल्य गहना हुन्, हाम्रो देश नेपाल बहुजातीय, बहुधार्मिक, बहुसंस्कृतिक विशेषताले भरिएको विविधतामा एकताको अनुपम नमुना भएको सुन्दर मुलुक हो’ सन्देशमा भनिएको छ ।
‘नेपाल आफैमा एक विश्व हो, हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र सम्बर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ’ उनले भनेका छन् ।
सभ्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा मैलिक परम्पराले थप टेवा दिने उनले बताए । यी पक्षहरूलाई सुखी जीवनको मानकको रूपमा लिन सक्नु पर्ने उनले सन्देशमा भनेका छन् ।
प्रदेश प्रमुख देवकोटाले इस्बी सम्बत् २०२५ को पूर्वसन्ध्यामा सन् २०२४ लाई मूल्यांकन गरेर कमीकमजोरी सच्याउँदै अग्रगमनको दिशामा लाग्न २०२५ ले प्रेरणा मिलोस भन्ने शुभकामना समेत दिएका छन् ।
जनवरी १ तारीखलाई टोपी दिवसको रूपमा पनि मनाउन थालिएको सन्दर्भमा पनि उनले शुभकामना दिएका छन् । आफ्ना मौलिक संस्कृतिका रक्षार्थका सभ्य, अनुशासित र अर्थ पूर्ण क्रियाकलापहरूप्रती हामी सबैको गर्व र समर्थन हुनु आवश्यक रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
शुभकामना सन्देश ।