उद्योगी व्यवसायीले गुनासो गर्ने वातावरण बन्न नदिने गरी काम गर्नेछु : अग्रवाल
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अनिल अग्रवालसँग गरेको कुराकानीको सम्पादित अंश ।
सवालः यहाँले यही पुष २४ गतेदेखि २७ गतेसम्म हुने उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँको उम्मेदवारी किन ?
जवाफः धन्यवाद, निकै राम्रो र गहकिलो प्रश्न गर्नुभयो । मकवानपुर उद्योग वाणिज्य संघमा करिब १७ वर्ष अगाडि आमन्त्रित सदस्य भएर म प्रवेश गरेको थिएँ । त्यसपश्चात मैले ३ कार्यकाल सदस्य, ३ कार्यकाल सह–कोषाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गरेँ । बरिष्ठ उपाध्यक्षपश्चात् अब बाँकी रहेको पद भनेको अध्यक्ष पद नै हो । त्यसकारण मेरो उम्मेदवारी स्वभाविक छ ।
म व्यवसायिहरुको मर्म, भावना बुझ्न सक्छु । उनीहरुको समस्यालाई मैले नजिकैबाट बुझेको छु । समस्या समाधानको लाई विगतमा चालेका पाइला पर्याप्त छैन । अझै पाइला चाल्नुपर्ने छ । व्यवसायीहरुको हकहित एवम् प्रवद्र्धनको लागि संघबाट गर्न सकिने गतिविधि बारे म जानकार छु । त्यसकारण एक पटक नेतृत्वमा नै रहेर काम गर्ने मेरो चाहाना छ । आशा छ, सबै उद्योग व्यवसायीज्यूहरुले मलाई विश्वास गरेर यस पटक सहयोग गर्नुहुन्छ ।
सवालः तपाईँ निर्वाचित हुनुभयो भने जिल्लामा रहेका उद्योगी व्यवसायीहरुको हितका लागि के कस्ता कामहरु गर्नुहुन्छ ?
जवाफः म मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि मैले सबैभन्दा पहिला संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्छु । हामीले देखिरहेका छौँ, व्यवसायीहरुले निकै दुख पाइरहनुभएको छ । चाँहे त्यो करको विषयमा होस्, अनुगमनको विषयमा होस्, संस्थाको विधानको विषयमा होस्, चाँहे नाप तौलको विषयमा होस् । समस्या धेरै छन् । ती समस्या समाधानको भरपुर प्रयास गर्नेछु । व्यवसायीहरु डर, त्रासमुक्त हुनेछन् । म विगतमा कर संयोजक थिएँ । त्यतिबेला व्यवसायीहरुले निकै समस्या झेलिरहनुभएको थियो । मैले समस्या समाधानको लागि भरपुर प्रयास गरेँ । धेरै व्यवसायीहरुलाई जरीवाना हुनबाट हामीले जोगाएका छौँ । कर सचेतना अभियान संचालन गरेका थियौँ । त्यसकारण यहाँको प्रश्नको उत्तर निचोडमा भन्नुपर्दा मेरो पहल संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हितका लागि हुनेछ ।
सवालः तपाईँको नेतृत्वमा उम्मेदवारहरुको प्यानल चाँही बनाउनुभएको छैन ?
जवाफः हाम्रो करिब करिब प्यानल बनिसकेको छ । मैले मंसिर ३० गते सचिवालयसहित अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेँ । हुन त मैले त्यसभन्दा अगाडि पनि उम्मेदवारी घोषणा गरेको थिएँ । औपचारिक घोषणा मात्र मंसिर ३० गते गरेको हुँ । मसँग मउवा संघमा कस्ता व्यक्तिहरुलाई लैजानुपर्छ, कस्ता साथीहरुलाई अगाडि बढाउँदा व्यवसायीहरुको समस्या समाधान गर्न सकिन्छ भनेर सबै साथीहरुलाई समेटेर अगाडि बढिरहको छु । हामी पूर्ण टिम बनाएर अगाडि बढ्नेछौँ ।
सवालः तपाईँको टिममा राजनीतिक हिसाबले नेपाली कांग्रेसमा लागेकाहरुको मात्रै सहभागिता छ । त्यसबाहेक अन्य दलका व्यक्तिहरु सामेल छैन भन्ने चर्चा–परिचर्चा छ यसमा के भन्नुहुन्छ ?
जवाफः उद्योग वाणिज्य संघमा केही साथीहरु नेपाली कांग्रेस, केही साथीहरु नेकपा एमाले, केही माओवादी केन्द्र र केही साथीहरु नेकपा एकीकृत समाजवादी लगायतका हुनुहुन्छ । मैले मेरो टिममा कांग्रेस मात्रै होइन अन्य दलका साथीहरुलाई पनि समेटेको छु । हाम्रो टिममा राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुलाई पनि समेटेको छु । उद्योग वाणिज्य संघ भनेको गैर राजनीतिक संस्था हो र यसलाई गैर राजनीतिक संस्था नै बनाउनुपर्दछ । हामीले यसमा मैले पनि राजनीतिक कुरा गर्नुहुँदैछ । बिगतमा हामीले देखेका छौँ, कांग्रेस एकातिर, एमाले एकातिर, माओवादी एकातिर भएर चुनाव लडेको पनि देख्याँं । तर, मेरो एउटै भनाई छ उद्योग वाणिज्य संघ गैर राजनीतिक संस्था हो । यहाँ राजनीतिको कुनै पनि गन्ध आउनुहुँदैन भन्ने मेरो धारणा छ ।
सवालः यहाँले करिब १७ वर्ष उद्योग वाणिज्य संघमा बसेर काम गरँे भन्नुभयो । वरिष्ठ उपाध्यक्षसम्म हुँदा यहाँको तर्फबाट उद्योगी व्यवसायीहरुको हकहितका लागि के काम भए त ?
जवाफः उद्योग वाणिज्य संघमा आवद्ध हुँदा व्यवसायीहरुको हकहितका लागि धेरै महत्वपूर्ण कामहरु गरेका छौँ । व्यवसायीहरुका लागि वीरगञ्ज नापतौल कार्यालयका कर्मचारीलाई हेटौंडामा बोलाएर व्यावसायीहरुको काममा सहजीकरण गरेका छौँ । हामीले बजारमा व्यवसायीहरुलाई करको विषयमा जानकारी गराउने काम गर्यौँ । मकवानपुरमा व्यवसायीहरु आन्तरिक राजस्व कार्यालयको अधिकृतसँग निडर भएर कुराकानी गर्ने वातावरण हामीले बनाएका छौँ । कर कार्यालयमा उद्योग वाणिज्य संघको तर्फबाट एउटा हेल्प डेक्स राखेका छौँ । वर्षमा ३ महिना राखिने हेल्प डेक्स यस वर्ष झण्डै १०–११ महिना नै राख्यौँ । हामीले व्यवसायी र व्यवसायीको हकमा धेरै नै काम गरिरहेका छौँ । नगरपालिकाको बैठकमा गएर राजस्व, राज्यको नीति निर्माणको विषयमा पनि धेरै कामहरु भएका छन् ।
सवालः चुनावको बेलामा तामझाम र जोडतोडका साथ यहाँहरु लाग्नुहुन्छ । जितेर गइसकेपछि उद्योगी व्यवासायीलाई परेको समस्यालाई खासै ध्यान दिनुहुन्न भन्ने गुनासो छ, यो सत्य हो ?
जवाफः यो विषय एकदमै सत्य हो । तर, के हो भने कुनै उद्योगी व्यवसायीहरुले आफ्नो समस्या उद्योग वाणिज्य संघमा आएर जानकारी चाँही गराउनुपर्छ । कतिपय अवस्थामा व्यवासयीलाई समस्या परिरहेको कुरा संघलाई जानकारी नहुन पनि सक्छ । त्यसकारण संघ त्यहाँ पुग्न सकिरहेको हुँदैन । तर, थाहा पाएको र जानकारी आएको खण्डमा हामी त्यहाँ तुरुन्त पुगेका हुन्छौँ र हामीले गर्नुपर्ने सहजीकरण गर्छौँ । त्यसो हुँदा हुँदै पनि कति समस्याहरु निराकरण हुँदैन । प्रयास भने जारी नै राख्छौँ । मेरो नेतृत्वमा उद्योगी व्यवसायीले गुनासो गर्ने वातावरण बन्न नदिने गरी काम गर्नेछु ।
सवालः यहाँहरुको बिचमा पालैपालो मिलेर संघमा जाने भन्ने समझदारी पनि थियो । अहिले चुनावमै जानुपर्ने अवस्था कसरी बन्यो ?
जवाफः हामी पालैपालो जाने भन्ने ठोस सहमति चाँही थिएन । अहिले मेरो भनाई भनेको के हो भने अहिलेसम्म पनि केही बिग्रेको छैन । म यस संस्थाको सबैभन्दा पूरानो सदस्य हुँ । मेरो कार्यकाल १७ वर्ष भइसक्यो । प्रतिस्पर्धामा हुनुभएका साथीहरु संघमा आवद्ध भएको १२–१३ वर्ष भयो । त्यसकारण म उहाँहरुभन्दा ५–६ वर्ष अगाडि सदस्य भएको हुँ । त्यो अवधिमा मैले संघको हितका लागि पुर्याएको योगदानको हिसाबले, आवद्धताको हिसाबले, आगामी दिनमा काम गर्ने योजनाको हिसाबले उहाँहरुले मलाई अगाडि बढ्ने वातावरण बनाइदिनुपर्ने हो । मिलेर जाने विषयमा म निकै लचिलो छु । तर, हरेक दृष्टिकोणबाट यस पटक मेरो उम्मेदवारी स्वभाविक छ । हामी टुटेर फुटेर अगाडि जानुपर्छ भन्ने मेरो सोचाई होइन । संघमा १७ वर्ष योगदान पुर्याइसकेँ । योभन्दा माथिको पद छैन । त्यसकारण म अघि बढेको हुँ ।
सवालः पूर्व अध्यक्षहरुको चलखेलमा पर्नुभयो भन्ने चर्चा पनि छ नी ?
जवाफः होइन भन्न सकिन्न, त्यो पनि होला । कसैलाई अनिलको अनुहार कालो भएर मन नपरेको पनि हुन सक्छ । कोही कृष्ण भगवानको अनुहार कालै हुन्छ भनेर मन पराइरहने खालका पनि हुनुहुन्छ । पूर्व अध्यक्षज्यूहरुले हेर्ने दृष्टिकोणको म सम्मान गर्न चाहान्छु । उहाँहरुकै सल्लाह अनुसार व्यवसायीको हितका लागि लाग्नेछु ।
सवालः तपाईँको साथमा पूर्वअध्यक्षज्यूहरु हुनुहुन्छ त ?
जवाफः पूर्व अध्यक्षज्यूहरु अर्को टिममा हुनुहुन्छ । तर, उहाँहरुको मन ममा नै छ भन्ने मेरो विश्वास छ । सबै कुरा मैले भन्न मिल्दैन । मलाई अन्तिमसम्ममा उहाँहरुको मत पग्लिन्छ जस्तो लाग्छ ।
सवालः एक जना मात्रै पूर्व अध्यक्षको सहयोग पाउनुभएको देखिन्छ । चुनाव जितिन्छ त ?
जवाफः मलाई जहाँसम्म लाग्छ, चुनाव जित्न पूर्वअध्यक्षज्यूहरुको सुभेच्छा चाहिन्छ । मैले माथि पनि भनिसकेको छु । अन्तिमसम्म उहाँहरुको मन पग्लिन्छ भनेर । मतदाताको मन पग्लिसकेको छ । मतदाताको विश्वास पाइसकेको छु । उहाँहरुको मनमा बसेको मान्छेलाई चुनाव जिन्त गाह्रो नहोला ।
सवालः मतदाताको संख्यालाई सरसर्ती हेर्ने हो भने अघिल्लो वर्षको चुनावमा भन्दा यस पटक मतदाताहरु घटेका छन् । यसबाट उद्योग वाण्ज्यि संघको चार्मिङ घट्दो छ भन्ने बुझ्न सकिन्छ ?
जवाफः अब मतदाता नविरणको लागि कर चुक्ता अनिवार्य चाहिन्छ । नत्र नविकरण नहुने भन्ने कुरा भनिएको हुनाले सदस्य संख्या घटेको हो । तर, उद्योग वाणिज्य संघको चार्मिङ घटेको जस्तो मलाई लाग्दैन । कसैलाई चार्मिङ घटेको जस्तो लागेको छ भने ढुक्क हुनुहोस् म पुनः त्यो चार्मिङ ल्याउँछु ।
सवालः अनिल अग्रवाललाई मउवा संघको अध्यक्ष पदमा भोट किन हाल्नुपर्ने योजनाहरु के के छन् ?
जवाफः मैले १७ वर्षको अवधिमा धेरै कामहरु गरेको छु । अनुभव पनि बढुलेको छु । धेरै कुरा त मैले भनिसकेको छु । अब भन्नुपर्ने के हो भने, भित्रि मनबाट म अब उद्योग वाणिज्य संघको नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ । दुई कार्यकाल सदस्य भएर अध्यक्ष हुनुभएको चार कार्यकाल सदस्य भएर अध्यक्ष भएको हामीले देखेका छौँ । मैले त लामो समय लगाएर आफुमा निखारता ल्याएको छु । म काम गर्छु, काम गर्न सक्छु । एक पटक सबैले विश्वास गरिदिनुहोस् भन्ने अपेक्षा गर्दछु । यहाँहरुको मन मत दुवै पाउँछु भन्ने विश्वास छ ।
सवालः अन्तरवार्ताको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जवाफः मउवा संघको अध्यक्ष पदका लागि मेरो मित्र प्रमोद सिंह रानाभाट पनि उभिनुभएको छ । हामीबीच कुनै किसिमको आरोप प्रत्यारोप छैन । पदमा रहेर काम गर्छु भनेर हिम्मत देखाउनु राम्रो हो । हामी दुवै जना व्यवसायीमाझ पुगेर आफ्ना योजना सुनाउँछौँ । आधार देखाउँछौँ । मतदान व्यवसायीको अधिकार हो । उहाँहरुलाई जो व्यक्ति समक्ष लाग्छ उहाँलाई नै रोज्नुहुन्छ ।
म विभिन्न संघसंस्था हुँदै मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध छु । विगतमा मेरो आदरणीय बुवा स्व. इश्वरचन्द्र अग्रवाल पनि दुई पटक मउवा संघको सदस्य हुनुभएको थियो । एक पटक अध्यक्षको उम्मेदवार हुँदा उहाँ पराजित हुनुभएको थियो । उहाँको अध्यक्ष निर्वाचित भएर उद्योगी व्यवसायीलाई सेवा गर्ने सपना पूरा गर्नको लागि पनि म अध्यक्ष हुनुपर्ने छ । त्यसकारण म र मेरो टिम व्यवसायीको हितको योजना लिएर आएको छ । विश्वास गरेर निर्वाचित गराइदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।