मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा

अखबार हब
२०८१ पुष १६, मंगलवार २२:३८

हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका-५, बसन्तपुरमा मान्छे र बाख्रा खाएर जंगलतिर भागेको बाघलाई नियन्त्रण लिइएको छ ।

आफैंले मारेको सिकार खान फर्केको बाघलाई मंगलबार बेलुका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

पुस १४ गते साँझ घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घरछेवैमा मारेको र सोही रात अन्य ७ वटा बाख्रालाई खोरमै मारेर भागेको बाघ सिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट गरिएको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरू, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गर्ने र डार्ट गरेर नियन्त्रणमा लिने उपाय निकालेका थिए ।

बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको र केही परमात्रै बाघ बेहोस अवस्थामा फेला परेको उनले बताए । डार्ट गरिएपछि सिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो । बेहोस अवस्थाको बाघलाई मंगलबार नै चितवन राष्ट्रिय निकुन्ज कसरा लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*