हेटौंडामा मनाइयो टोपी दिवस
हेटौंडा। नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको धरोहरका रुपमा रहेको नेपाली टोपीको महत्व र गरिमालाई उच्च राख्दै १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस हेटौंडामा र्याली र विशेष कार्यक्रमसाथ मनाइएको छ ।
कार्यक्रमको आयोजना लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल, लियो लाइन्स क्लब अफ हेटौंडा स्वर्णिम भविष्य र लियो जिल्ला परिषद् `एस’ नेपाल एरिया–२ को संयुक्त प्रयासमा गरिएको हो । कार्यक्रममा नितेश राईको सभाध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो ।
सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने मुल नारासाथ हुप्रचौरबाट शुरु भएको र्याली नगरका विभिन्न भाग शितलमहल चोक, पारिजातपथ र सीमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रमुख अतिथि सिग्देलले नेपाली टोपीलाई एउटा पोशाकका रुपमा मात्र नहेरी यसलाई नेपाली स्वाभिमान, र इतिहासको जीवन्त प्रतीकका रुपमा हेर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने–नेपाली टोपी हाम्रो गौरव र विशिष्ट पहिचान हो । यसको महत्वलाई हामीले दैनिक जीवनमा उजागर गर्नुपर्छ । उनले नेपाली टोपीको प्रवद्र्धनले व्यापार र पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनसक्नेमा जोड दिए ।
हेटौंडा उपमहानगरपालिका पूर्वमेयर हरिबहादुर महतले टोपी दिवसको शुभकामना दिदै यस परम्परागत् पहिचान संरक्षण र सम्वद्र्धन गर्न सबै नेपालीको साझा दायित्व रहेको बताए । लियो जिल्ला परिषद् नेपालका सचिव रुपक कालीराजले अंग्रेजी नयाँ वर्षलाई नेपालीपनको रंगमा रङ्ग्याउन अभियान शुरु गरिएको र यसलाई अझ व्यापक बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा करिब २ सय भन्दा बढी टोपी निःशुल्क वितरण गरिएको थियो ।
पत्रकारलाई टोपी उपहार
टोपी दिवसको अवसरमा मकवानपुरका पत्रकारलाई टोपी उपहार प्रदान गरिएको छ । हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाइदै आएको टोपी दिवसमा नेपाली टोपीको महत्वलाई उजागर गर्दै उपहार प्रदान गरिएको हो ।
लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियलले मकवानपुरका पत्रकार्सङ्ग शुभकामना तथा अन्तर्क्रिया गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारीलगायत मकवानपुरका प्रतिष्ठित सञ्चारकर्मीको उपस्थिति थियो ।
पत्रकार महासघ मकवानपुर उपाध्यक्ष अधिकारीले नेपाली पहिचानको प्रतीक टोपीको सम्मान र यसको प्रचारप्रसारमा योगदान गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए । टोपी दिवसले राष्ट्रिय पोशाकप्रतिको गर्व बृद्धि गर्ने र संस्कृतिक एकताका लागि सन्देशप्रवाह गर्ने सहभागी पत्रकारले बताए । मकवानपुरका पत्रकारले उक्त उपहारलाई आफ्नो कर्तव्य र पहिचानको सम्मानका रुपमा ग्रहण गरेका छन् ।