हेटौंडाका दुई ठुला विद्यालयको टोली बुटवलको कालिका माविमा

अखबार हब
२०८१ पुष १८, बिहीबार १८:२६

बुटवल । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गर्दै मेघा विध्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक मावीका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ का संयोजक श्रीराम दाहाल, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिषचन्द्र सापकोटा सहितको टोलीले देशकै सबैभन्दा धेरै विद्यार्थी अध्यापन गर्ने कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको हो ।

अबलोकनको क्रममा हेटौंडाको टोलीले उक्त विद्यालयलाई मर्ज गर्दाको अवस्था, ठूलो सङ्ख्याको कर्मचारी र विद्यार्थीको सफल व्यवस्थापन, चुनौती, संभावना र अवसरको बारेमा कालिकाकाको विद्यालय प्रशासन सङ्ग जानकारी लिएको थियो । जानकारी दिदै कालिकाका प्रधानाध्यापक दिनेश थापाले मर्ज गरिने दुई विद्यालयको व्यवस्थापन समिती, स्थानीय सरकारले समन्वयको भुमिका निर्वाह गरे मर्ज गरिने प्रक्रिया ठूलो समस्या नहुने बताए ।
सफल विद्यालय मर्ज गरेर मेघा विद्यालय बनाउने विषय चुनौतीपूर्ण रहेपनि एक मनमा एकता सहितको कार्य गरे अभियान सफल हुने उनको भनाई छ ।

अबलोकनको क्रममा भएको अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष वलबहादुर पुनःले ठूलो विद्यालय बनाएर देशकै नमुना बनाउनेगरि हेटौंडामा भएको प्रयास उचित भएको बताउदै यो अभियानमा आफुहरुको अनुभवलाई आधुनिक-भुटनदेवी मर्ज गर्दा प्रयोग गर्न सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै हेटौंडा-४ का वडाध्यक्ष सिग्देलले सिमाना जोडिएको विद्यालयलाई एक बनाएर देशकै ठूलो र नमुना विद्यालय बनाउने अभियानमा सम्पुर्ण हेटौंडाको सहयोग रहेको उल्लेख गरे । कालिकाको व्यवस्थापनबाट आफुहरुले पनि सहज ढ्ङ्गबाट यो अभियानलाई निचोडमा पुर्याउन सफल हुने उनले विश्वास व्यक्त गरे ।

आधुनिकमा करिब २८ सय बालबालिका र भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् ।

अवलोकन भ्रमणमा आधुनिक र भुटनदेवीका विद्यालय व्यवस्थापन समितीका सदस्यहरुको पनि सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*