विषादी व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न, अग्रज व्यवसायी सम्मान
हेटौंडा । विषादी व्यवसायी संघ नेपाल (PEAN) मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले पुन: सुबास मल्ल ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा निराजन बर्तौला, सचीव नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, विश्वराज अधिकारी, सुरेन्द्र न्यौपाने, तुलसीप्रसाद घिमिरे र शशिधर सुबेदी चयन भएका छन् ।
अधिवेशनमा व्यवसायीहरूको भूमिका, विषादीको प्रभावकारी व्यवस्थापन, र यस क्षेत्रको दीर्घकालीन योजनाबारे छलफल गरिएको थियो।
संघका अध्यक्ष सुबास मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले विषादी व्यवसायलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउनका लागि विभिन्न सुझाव र योजनाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष छोटेलाल साहले संघको मूल उद्देश्य विषादी व्यवसायलाई सुरक्षित, जिम्मेवार, र व्यवस्थित बनाउँदै किसान, उपभोक्ता, र वातावरणको संरक्षण गर्नु रहेको बताए। विषादीको उचित प्रयोग, व्यवस्थापन, र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न हामीले आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए । यसैगरी उनले राज्यले कृषी सामाग्रीहरुमा लगाएको भ्याट अब्यवहारिक रहेको बताउदै यसमा सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।
यस्तै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलक कडेलले आजको समयमा कृषिको उत्पादकत्व वृद्धि गर्न र कीट तथा रोग व्यवस्थापनमा विषादीको महत्त्वपूर्ण भूमिका रहेको छ भन्दै यसको जिम्मेवार र सुरक्षित प्रयोग अपरिहार्य रहेको बताए।
कृषि विकास कार्यालयले किसानहरूलाई विषादीको सही उपयोग, प्रभावकारिता, तथा सुरक्षा उपायबारे जनचेतना फैलाउन निरन्तर काम गर्दै आएको छ। हामीले व्यवसायीहरूलाई आवश्यक तालिम, ज्ञान, तथा परामर्श प्रदान गर्न सधैँ तत्पर रहेको बताए ।
यस्तै कृषि क्षेत्रको दिगो विकास र किसानहरूको जीवनस्तर सुधार गर्न विषादी व्यवसायी संघको योगदान अमूल्य रहेको बताउदै कृषि ज्ञान केन्द्रले संघसङ्ग सहकार्य गर्दै कृषिमा नवप्रवर्तन र जिम्मेवार अभ्यासलाई अगाडि बढाउन सधैँ तत्पर रहने प्रतिवद्दता समेत व्यक्त गरे।
कार्यक्रमका बिच मकवानपुरमा रहेर लामो समय कृषी तथा विषादी व्यवसाय गर्दै आएका अग्रज व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल र राजु अधिकारी, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल बीउ व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष हरिशरण अर्याल, विषादी व्यवसायी संघ निवर्तमान अध्यक्ष बिजय कनौडिया, नेपाल फर्टिलाईजर एशोसियशन प्रदेश उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।