हेटौंडाको १८ नम्बर वडा बालमैत्रीवडा घोषणा हुँदै

अखबार हब
२०८१ पुष २६, शुक्रबार २०:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि ४ माघमा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको जानकारी गराएको हो ।

वडा सदस्य योगराज खतिवडाले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४७ वटा सुचकमा शतप्रतिशत, २ वटामा ८० प्रतिशत र बाँकी एकमा ९५  प्रतिशत भन्दा माथि नतिजा हासिल गरिसकेको जानकारी दिए ।

३ हजार २ सय ७४ बालबालिका रहेको यस वडामा १८ वटा बालसमुह र एउटा वडा बालसंजाल रहेको वडा सदस्य खतिवडाले जानकारी दिए ।

पूर्ण खोप, पूर्ण साक्षर र खुल्ला दिसामुक्त वडा घोषणा भई बालमैत्री वडा घोषणाको अन्तिम चरणमा आइपुगेको उनले बताए । वडासदस्य खतिवडाले घोषणाको दिगोपन कायम गर्न वडाले रणनीतिक योजनासमेत तयार पारेको जानकारी दिए ।

बालमैत्री वडा घोषणाको लागि चालु आर्थिक वर्षमा ६ लाख बजेट छुट्याएको वडा कार्यालयले जनाएको छ । यस अघि हेटौंडा उपमहानगरपालिकाको १३ वटा वडा बालमैत्री घोषणा भैसकेका छन् ।

नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*