आज मकवानपुरमा उद्योग – व्यापारीको चुनाव, २१ पदका लागि ४२ जना उम्मेदवार
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ ।
कुल २८ पदका लागि बिहीवार साढे १० बजेदेखि १२ बजेभित्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ७ जना निर्विरोध निर्वाचित भएपछि बाँकी २१ पदमा ४२ जना उम्मेदवारबिच निर्वाचन हुने भएको हो ।
संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै छन् ।
संघको ५७ औं साधारणसभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ ।
संघको महासचिवमा प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र कृष्ण कर्माचार्य तथा सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरीपाण्डेले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता इश्वरराज ढकालले जानकारी दिए ।
उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती र रविन्द्र घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला (कृष), जगदीश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारी र उद्योगतर्फकै महिलाआरक्षण सदस्यमा मेनका श्रेष्ठ र सीतादेवी भेटवालले मनोनयन दर्ता गराएका छन् ।
एसोसिएसटतर्फ उपाध्यक्षमा उज्ज्वल चौलागाईं र विष्णु खनाल, एसोसिएट सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी दर्ता भएको छ । वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, वाणिज्यको सचिवमा दिवस पराजुली र कुलप्रसाद चौलागाईं, सदस्यमा बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल, यज्ञबहादुर राय (विनोद), राजेन्द्र लामिछाने, राजदेव बनियाँ, रविन ढकाल, सन्तोष घिमिरे, होमनाथ खनालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत ढकालले जनाए । वस्तुगतर्फ उपाध्यक्षमा खाद्यान्न व्यवसायी संघका काव्यमणि अधिकारी र ढुवानी एसोसिएसनका प्रदीप अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।
वस्तुगतकै सचिवमा कपडा तथा तयारी पोशाक संघका नेत्रप्रसाद खतिवडा र क्रसर उद्योग व्यवसायी संघका राजाराम कार्की, सदस्यमा फर्निचर व्यवसायी संघका कृष्णप्रसाद अर्याल, क्यान महासंघका गोविन्द चौलागाईं, मुद्रण उद्योग संघका राजु नेपाल र घरजग्गा व्यवसायी संघका शम्भु पुडासैनीको उम्मेदवारी रहेको छ ।
निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउने छन् ।