हेटौंडाको – १ नम्बर वडा बालमैत्री वडा घोषणा गरिदैँ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
आगामी माघ ११ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो ।
मंगलबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दे कार्यक्रम बारे जानकारी गराएको हो । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ ११ गते शुक्रबार १ नं. वडालाई बालमैत्री वडा घोषणा गरिन लागिएको वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
अध्यक्ष न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४७ वटा सुचकहरुमा शत प्रतिशत र बाँकी ४ वटामा आवश्यक न्युनतम प्रतिशत नतिजा हाँसिल भएको बताए ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सुचक मापनको प्रतिवेदन, स्थिति पत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको उनले बताए ।
घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १ नं. वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १४ रहेको छ । जसमा १ हजार ४५ बालक र ९ सय ६९ बालिका रहेका छन् । वडामा सामुदायिक, संस्थागत र बाल विकास केन्द्र सहितका ६ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।