कामको भुक्तानी नपाउँदा निर्माण व्यवसायी निरुत्साहितः कँडेल
हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले भएका कामको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु काम प्रति निरुत्साहित हुन पुगेको बताएका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित प्रदेश, जिल्ला समिति र मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचितलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष कँडेले कामको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु काम प्रति निरुत्साहित भएर पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् । व्यवसायीहरुको सुरक्षासँगै लगानीको सुरक्षा गर्न पनि राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ ।
यसैगरी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले राज्यपक्षकै कमजोरीको कारण आज निर्माण व्यवसायी आन्दोलनमा उत्रनुपर्ने स्थिति सिर्जना भएको बताए । निर्माण व्यवसायीको मागलाई साथ दिन उद्योग वाणिज्य संघ तयार रहेको समेत उनले बताए । त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने जनाएका छन् ।
संघको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार महासंघको निर्वाचनमा विजयी भएका प्रदेश अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाईं, जिल्ला समितिका अध्यक्ष बालकृष्ण अधिकारी सहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको हो । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट नेतृत्वको टिमलाई पनि सम्मान गरेको हो ।