हेटौंडामा व्यापार महोत्सव गर्दै निर्माण व्यवसायी संघ
हेटौंडा । हेटौंडामा दाेस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा हेटौंडामा दाेस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको हो ।
मंगलबार निर्माण व्यवसायी संघ मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरि आगामी फागुण ६ देखि १८ गते सम्म हेटौंडाको टिसिएन चौरमा महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो ।
निर्माण सामाग्री उद्योगी, बिक्रेता र उपयोगकर्ता बीच समन्वयन गराउने, उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका बीच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने उदेश्य महोत्सवको रहेको संघका अध्यक्ष बालगोपाल कँडेलले बताए ।
‘महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, बिक्री र प्रदर्शनीमा विशेष जोड दिइएको छ।’ अध्यक्ष कँडेलले बताए ।
महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्री लगायत स्थानीय उत्पादन गरि ३ सय ५० वटा स्टलहरु रहनेछन् ।
स्थानीय स्टललाई ५० प्रतिशतसम्म शुल्क छुट दिईने संघले जनाएको छ । यस्तै महोत्सवमा गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहने छन् ।
महोत्सवमा जिल्ला बाहिरका १ सय बढी स्टलहरु रहने अनुमान गरिएको छ । साथै १ करोड ३ लाख कुल लागतमा महोत्सव सम्पन्न हुँदा, १ करोड १७ लाख रुपैँया आम्दानी हुने संघको अनुमान छ ।
महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष कँडेलको संयोजकत्वमा २११ सदस्यीय महोत्सव मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
महोत्सव तथा प्रदर्शनीले निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पु¥याउने लक्ष्य संघको छ ।