बागमती प्रदेशमा झण्डै तीन लाख किशोरीलाई एचपिभी खोप लगाइने

अखबार हब
२०८१ माघ १५, मंगलवार २१:१६

हेटौंडा । बागमती प्रदेशका १० वर्षदेखि १४ वर्ष उमेर समूहका झण्डै तीन लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ ।

नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको खोप अभियान अन्तर्गत बागमती प्रदेशका २ लाख ९८ हजार तीन सय ५ जना किशोरीलाई खोप दिने तयारी गरिएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । विद्यालय भित्र रहेका २ लाख ७५ हजार ७१ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २ सय ३४ जना किशोरीलाई खोप लगाउने तयारी रहेको निर्देशनालयका निर्देशक नरेन्द्र झाले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा १ लाख ८ हजार १ सय ४ र सबैभन्दा कम रसुवाका १ हजार ६ सय ८६ किशोरीले खोप लगाउँदैछन् ।

त्यस्तै, ललितपुर ३१ हजार ९ सय ८५, चितवनका ३१ हजार ५ सय ७०, मकवानपुरका २२ हजार ७ सय १३, भक्तपुरका १९ हजार २ सय ९५, काभैका १६ हजार १ सय १३, सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

त्यस्तै, धादिङ १३ हजार ९ सय ७३ , नुवाकोट ११ हजार १ सय ७८, सिन्धुपाल्चोक जिल्लाका १० हजार ४ सय ६८ जना, रामेछापका ७ हजार ७८ र दोलखाका ६ हजार ५ सय २० किशोरीलाई खोप लगाइने बताइएको छ । निशुल्क प्रदान गरिने खोप अभियानका लागि बागमती प्रदेशमा ४ हजार ५ सय ७९ खोप केन्द्र तय गरिएको छ । अभियानका लागि ४ हजार ३ सय २४ स्वास्थ्यकर्मीका साथै ८ हजार ७ सय ३६ स्वयंसेवक परिचालित हुने निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*