मकवानपुरमा २२ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

अखबार हब
२०८१ माघ १५, मंगलवार २१:३५

हेटौंडा । मकवानपुर जिल्लामा २२ हजार बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ ।

जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागि मंगलबार गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्यनरत २२ हजार ७ सय १३ जना छात्रालाई एचपिभी खोप लगाइने जानकारी दिइएको हो । देशव्यापी रुपमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियान मकवानपुरमा भने माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

मकवानपुर गढी गाउँपालिकाको चण्डिका मावी बाट खोप अभियान शुभारम्भ गरिने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। यसवर्ष कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने उनले बताए ।

उनका अनुसार विद्यालय लक्षित खोप केन्द्र २ सय ४० र अन्य खोप केन्द्र १ सय १० गरी ३ सय ५० खोप केन्द्रमा ३ सय ६७ खोप सेशन रहने गरी अभियान सञ्चालन हुनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रालाई विद्यालयमै र विद्यालय नजाने करिब ६ सय ५४ जना छात्राहरु लाई खोप लगाइने प्रमुख मिजारले बताए । खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वमसेवक परिचालन गरिने छ ।

प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वमसेवक परिचालन गरिने मिजारले बताए । अभियानले ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने लक्ष्य राखिएको बताइएको छ । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउन समेत उनले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*