हेटौंडामा डेढ महिनामा सयभन्दा बढी खानेपानीको मिटर चोरी
हेटौंडा । हेटौंडामा खानेपानी ग्राहकका मिटरको चोरीको घटना बढेको छ । डेढ महिनाको अवधिमा करिब एक सयभन्दा बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरहरुले पाइपबाट खोलेर लैजाने गरेका छन् ।
पुस महिनादेखि नै खानेपानीका मिटर चोरी हुन थालेको हो । ‘पुस महिनामा पनि नगरका विभिन्न वडाका घरहरुबाट खानेपानीको मिटर चोरी भएको थियो,’ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले भने,‘माघ महिनामा झन मिटर चोरीको घटना बढेको छ ।’
बोर्डका उपभोक्ताहरुले व्रासवडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ । उक्त पितल बिक्री गर्नका लागि खानेपानीको मिटर चोरिएको हुनसक्ने बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए ।
उनले भने, ‘त्यही पितल झिकेर बिक्री गर्नका लागि मिटर चोरी भएको हो ।’ एउटा मिटरभित्र भएको पितल ७/८ सय रुपैयाँसम्मा बजारमा बिक्री हुन्छ । पुसदेखि माघको २३ गते अर्थात् बुधबारसम्म एक सयभन्दा बढी खानेपानीका ग्राहकहरुको मिटर चोरी भइसकेको बोर्डले जनाएको छ ।
घरमा मिटर चोरी भएपछि अर्को मिटर जडान गर्नका लागि उपभोक्ताहरु खानेपानी व्यवस्थापन बोर्डमा धाउन थालेका छन् । अहिले दैनिक १ देखि ३ वटासम्म मिटर चोरी हुने गरेको छ । खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौंडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडाका घरहरुबाट हुने गरेको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जिल्ला प्रहरी कार्यालय हेटौंडालाई मिटर चोरीको घटनाबारे जानकारी गराइसकेको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालका अनुसार मिटर चोरीको घटना पत्ता लगाउन सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । खानेपानीको मिटर चोरी गर्ने गिरोह हेटौंडामा नै रहेको प्रहरीको अनुमान छ ।