विपद् प्रतिकार्य द्रुत टोली बनाउँदै एमाले मकवानपुर

हेटौंडा । नेकपा एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ ।
एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग र वन तथा वातावरण विभागको मंगलबार पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको हो ।
विपद् विभागका प्रमुख शिवहरि दाहालको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता, पार्टी जिल्ला सचिव सिता विष्ट, जनसंगठन समन्वय संयन्त्र जिल्ला सहसंयाेजक मिलन पाठक, पार्टी जिल्ला सदस्य आकाश अधिकारी, दिलमाया घर्तीलगायतको आतिथ्यतामा बसेको बैठकले ५० जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको हो ।
बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना पनि बनाएको छ । विभाग प्रमुख दाहालकाअनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान गरेर पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्य सम्बन्धी तालिम गर्दैछ ।
‘हरेक पालिकामा एमालेले विपद् प्रतिकार्य टोली बनाउनेछ । जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले गाउँगाउँमै विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो ।’ विभाग प्रमुख दाहालले भने, ‘एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ ।,’
यसैगरी, पार्टीको वन तथा वातावरण विभागले डढेलो नियन्त्रण, अग्निरेखा निर्माण सम्बन्धी सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा तालिम दिइने भएको छ । विभागले सामुदायिक वन, टोल विकास संस्था, विद्यालय, गैरसरकारी क्षेत्र, सरकारी निकाय र स्थानीयस्तरमा युवा क्लबहरुलाई सचेतनामूलक तालिम प्रदान गरिने विभाग प्रमुख पञ्चमाया स्याङ्तानले बताइन् ।