निर्माण क्षेत्रलाई दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

अखबार हब
२०८१ फाल्गुन ६, मंगलवार २१:५६

हेटौंडा । गृहमन्त्री रमेश लेखकले मुलुकको विकास निर्माणमा निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई सम्बोधन गर्दै लेखकले सरकारले निर्माण व्यवसायीहरूको बक्यौता भुक्तानी प्रक्रिया अघि बढाइसकेको र बाँकी रकम समेत शीघ्र प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । निर्माण क्षेत्रलाई कुनै पनि प्रकारको दबाब र प्रभावबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि दुई ठुला दल कांग्रेस र एमालेको वर्तमान सरकार बनेको दाबी गरे । दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको समीकरण निर्माण भएको उनको भनाइ छ । उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकमा सुशासन, विकास र समृद्धि कायम गर्नु अहिलेको सरकारको मुख्य कार्यभार भएको स्पष्ट पारे।

उनले सरकार मुलुकमा लगानीमैत्री वातावरण तयार गर्न लागिपरेको दाबी पनि गरे। लगानीमैत्री वातावरण निर्माणमा रहेका कानुनी जटिलता हटाएर उपयुक्त वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। सरकारले व्यावसािक वातावरण तयार गर्न अध्यदेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढिरहेको बताए।

मन्त्री लेखकले देश विकासको क्षेत्रमा निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अर्थतन्त्र र रोजगारी सिर्जना तथा विकास निर्माणमा ठुलो भूमिका रहेको बताए। सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानी दिन थालिसकेको स्मरण गराउँदै बाँकी बक्यौता पनि छिट्टै उपलब्ध गराउने तयारी भएकाले निश्चिन्त हुन आग्रह गरेका छन् ।

निर्माण व्यवसायीहरूले राज्यको लगानीलाई प्रतिफलयोग्य रूपमा अघि बढाउने गरी समयसीमाभित्रै गुणस्तरीय काम गर्न उनले आग्रह गरे। निर्माण व्यवसायीमा गुणस्तरीय काम र समयभित्रै सम्पन्न गर्ने चुनौतीको विषय रहेको उनको भनाइ थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*