प्रजातन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । आज बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहेकाहरुलाई शुभकामना व्यक्त गरेका हुन् ।
‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ । ‘स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रती उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’ सन्देशमा भनिएको छ ।
नेपालको इतिहासमा २००७ साल फाल्गुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ ‘निरंकुशता विरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।’
फाल्गुन ७ को जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ ।
आ-आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता रहेकाे प्रदेश प्रमुख देवकोटाले सन्देश मार्फत बताएका छन् । ‘हामीले जुटेर नै राजनैतिक फड्को मारेका छौंं अब फेरि जुटेर हामीले मुलुकमा आर्थिक समृद्धि भित्र्याउनु छ ।’
विश्वमा भएका द्रुतगतिका परिवर्तनको लहर र नेपाली जनताको अपेक्षालाई आत्मसात् गरेर अघि बढ्नुबाहेक अर्को कुनै विकल्प नभएकाे उनले बताएका छन् । स्वतन्त्र र समतामूलक समाज निर्माणमा अघि बढ्न आजको दिनले थप प्रेरणा र हौसला दिने विश्वास देवकोटाले लिएको सन्देशमा उल्लेख गरेका छन् । समुन्नत राष्ट्र निर्माणको परिकल्पना साकार पार्न सबैमा उर्जाशीलता वृद्धिको अपेक्षा उनले लिएका छन् ।