खेलकुद महोत्सवका विजयीलाई पुरस्कार वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नं वडा कार्यालयद्वारा आयोजित दोस्रो खेलकुद महोत्सव २०८१ को पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम भएको छ ।
बुधवार ४ नं वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
माघ ९ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म सञ्चालन भएको दोस्रो खेलकुद महोत्सव–२०८१ को विविध खेलकुदका विजेता र उपविजेतालाई सोही समारोहका बिच पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, ४ नं. वडा कार्यालयका वडा अध्यक्ष नवीन सिग्देल, ११ नं. वडा अध्यक्ष जुना दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाका अध्यक्ष श्रीराम दाहाल लगायतकाले विजेतालाई पुरस्कार वितरण गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्तरीय खेलकुद प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । समग्रमा एथ्लेटिक्स विद्यातर्फ भुटनदेवी विद्यालयले प्रथम, दोस्रो र तेस्रो स्थानमा क्रमशः समान ८ अंक हासिल गर्दै प्रथम भएको हो । हेटौँडा–४ मा रहेका विद्यालयको व्यवस्थापनमा भएको नगरस्तरीय खेलकुद प्रतियोगितामा विजयी भएको विद्यालयलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । जसअन्तर्गत क्रिकेट, भलिबल, फुटबल र बास्केटबल खेल सञ्चालन भएको थियो ।
सोही अवसरमा खेलकुद महोत्सवका गतिविधिहरू प्रकाशन तथा प्रसारण गरी योगदान पुर्याएको भन्दै पत्रकारद्वय अनिल पराजुली र रोहित थापालाई नगदसहित सम्मान गरिएको थियो । नगरका १९ वडामध्ये ४ नम्बर वडाले विद्यालय तहको शिक्षा सुधार तथा विद्यार्थीका लागि खेलकुद तथा रचनात्मक क्रियाकलापको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।