राक्सिराङको देविथान विद्यालयको नयाँ भवन शिलान्यास

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका -९ स्थित खैरानमा रहेको देविथान आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको खैरान स्थित सलेनी अवस्थित विद्यालयको नयाँ भवन शुक्रबार नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार बर्तौलाले शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्य सचेतक बर्तौलाले भवन निर्माण सप्पन्न भएपछी बालबालिकाले भवन अभावले गर्दा कठिन परिस्थितिका बिच अध्ययन गर्नुपर्ने बाध्यता नरहने बताए । यस्तै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको निम्ति आफु निरन्तर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
विद्यालयको नयाँ भवन संघिय सरकार अन्तर्गत शहरी बिकास मन्त्रालयको १ करोड लागतमा सघन शहरी तथा निर्माण आयोजना चितवनले बनाउन लागेको हो । अहिले विद्यालयमा १ देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको भएपनि कक्षा कोठाको अभावले गर्दा सबै विद्यार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता रहदै आएको छ ।