२ किलो ५३० ग्राम अफिमसहित एक जना पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ।
गएराती करिब ८:२० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका-८ स्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा २ किलो ५३० ग्राम अफिमसहित सोही स्थान बस्ने ३२ बर्षिय राज कुमार तामाङलाई नियन्त्रणमा लिएको हो।
देवकोटबाट मेनरोडतर्फ गइरहेको ग ६ प ४५८४ नम्बरको मोटरसाइकललाई शंका लागि रोकी जाँच गर्दा, चालक तामाङको मोटरसाइकलको लेगगार्डमा प्लास्टिकमा बेरिएको अवस्थामा उक्त पदार्थ फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषधसहित मोटरसाइकल बरामद गरी जिल्ला अदालत मकवानपुरबाट आठ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ।