भीमफेदीका ९९ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

अखबार हब
२०८१ फाल्गुन २७, मंगलवार ०८:२७

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।

सोमबार गाउँपालिकामा भएको आबद्धता कार्यक्रममा ९९ जना श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रमिकहरुलाई कोषमा आबद्धता भएको परिचय पत्र हस्तान्तरण गरेका थिए । उनले भीमफेदीबाट अन्य स्थानीय तहले पनि सिको कर्दै आफ्नो क्षेत्रका श्रमिकलाई कोषमा आबद्धता गराउन आग्रह गरे ।

भीमफेदीले यसअघि १३ माघ २०८० मा ९८ जना श्रमिकलाई कोषमा आबद्धता गराएको थियो । जसमा ८७ जनाले कोषमा निरन्तर रकम जम्मा गराउँदै आएका छन् । दुई वर्षमा १ सय ९७ जनालाई कोषमा समावेश गराइएको अध्यक्ष लामाले जानकारी गराए ।

सामाजिक सुरक्षा योजनामा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो रहेको सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताए ।

गाउँपालिकाले आगामी वर्ष महिला स्वयंमसेविकालाई कोषमा आबद्धता गराउने योजनाअनुसार बजेटको व्यवस्था गरिने अध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन् । उनले भीमफेदीले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्धता गराएपछि काठमाडौं महानगरदेखि भरतपुर महानगरसम्मले चासो देखाएको बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा कोषमा श्रमिकलाई आबद्धता गराउन २५ लाख बजेट विनियोजन गरेको थियो । गत आव २०८०/८१ मा १३ लाख बजेटबाट कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठले बताए ।

सामाजिक सुरक्षा योजनामा आवद्ध भएपछि श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाबाट सुविधा उपभोग गर्न सकिने कोषका निर्देशक नेपालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*