लागूऔषध तस्करले लुटेको मकवानपुर प्रहरीको पेस्तोल जंगलमा भेटियो

हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागूऔषध तस्करीको टोलीले लुटेको प्रहरीको पेस्तोल भेटिएको छ ।
कैलाश गाउँपालिकाको ६ नम्बर वडाको दुम्सीखर्चको जंगलमा सोमबार दिउसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल १ नम्बर वडाको बोल्नेलेकको जंगलमा आज बिहान १० बजे भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङका र सहायक हवल्दार गोविन्द्र मंग्राती दुम्सीखर्कको जंगलमा जाँदा तस्करीको टोलीसँग जम्का भेट भएपछि मुक्कामुक्कीको अवस्था भएको र उनीहरुले हवल्दार तामाङको साथबाट पेस्तोल लुटेको उनले जानकारी दिए ।
मोटरसाइकलमा २ केजी अफिम बोकेर आएका २ जनाले थप १० जनाको समूह बोलाएको र उनीहरुले पेस्तोल लुटेर भागेका थिए । तस्कर टोलीको पहिचान हुन नसकेको अर्यालले जानकारी दिए ।