बिजनेस चौपट भएका कम्पनीलाई सेयर बजार भित्रिन कडाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ८४ कम्पनी आईपीओ निष्कासनका लागि पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका कम्पनीलाई बोर्डले फटाफट स्वीकृति दिन सकिरहेको छैन ।
पाइपलाइनमा रहेका कतिपय कम्पनीको वित्तीय स्थिति नाजुक छ, बिजनेस चौपट अवस्थामा छ, बैंकको ऋणमार्फत कम्पनी सञ्चालन भइरहेका छन् । कतिपय कम्पनी वर्षौंसम्म निजी भएर नाफा संस्थापकले कमाए, तर अहिले बिजनेस चौपट भएपछि पब्लिक भएर आईपीओ निष्कासनको तयारीमा छन् ।
जब बिजनेस खस्किन्छ, वित्तीय स्थिति कमजोर बन्दै जान्छ, त्यसपछि कम्पनीलाई पब्लिकमा लगेर सेयर जारी गर्ने, त्यहीं पैसाले बैंकको ऋण तिर्ने र संस्थापकको सेयर तीन वर्षपछि लकइन खुलेसँगै सर्वसाधारणलाई भिडाएर सेयरबाट नाफा कुम्ल्याउने ‘कानुनसम्मत लुट’ परिपाटी बढ्दै गएको छ ।
यसअघि नेपाल धितोपत्र बोर्डको एक प्रतिवेदनले नै संस्थापकहरू लकइन अवधि सकिएपछि सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिने गरेको औंल्याएको छ । ‘जलविद्युत् समूहका अधिकांश संस्थापक सेयरधनीहरूले लकइन पिरियड सकिए पश्चात् सेयर बिक्री गरी बजारबाट निस्किने क्रम बढेको देखिन्छ’, अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।
पहिले हाइड्रोपावर कम्पनीमा देखिएको यो विकृति अहिले अरु कम्पनीमा पनि सरेको छ । हाइड्रोपावर तथा उत्पादन सेक्टरका कम्पनीबाहेक ऋणमा डुबेका, बिजनेस कमजोर भएका व्यापारिक भवन, होटल, मिडिया, कृषि फारमजस्ता कम्पनी अहिले बोर्डमा आईपीओ पाइपलाइनमा छन् ।
अंकित मूल्य १ सयका दरले सेयर जारी भएका कम्पनीको बजार मूल्य तीन वर्षपछि बेच्दा कम्तीमा ४\५ सय रुपैयाँ मूल्य पुग्ने गरेको देखिन्छ । तीन वर्षमै ४\५ गुणा नाफा कमाउन सकिने भएपछि कम्पनीलाई सेयर बजारमा लैजाने र सेयर बेचेर नाफा कमाउने धन्दा नै चलेको छ ।
पाइपलाइनमा कम्पनीको संख्या थुप्रिए पनि बोर्डले स्वीकृतिमा कडाइ गर्न थालिसकेको छ । ‘अब ९० भन्दा कम नेटवर्थ भएका कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाउँदैनन्’ बोर्डका एक उच्च अधिकारीले भने ‘लेखा समितिले नै यो निर्देशन दिएको छ, सम्भवत ९० अन्यथा ८० राख्नेगरी नीतिगत व्यवस्था नै गरिनेछ।’
प्रतिसेयर नेटवर्थ मात्रै नभई कम्पनीलाई अब आईपीओ निष्कासन गरेर बजार आउनका लागि केही कसिला मापदण्ड तयार गरिँदैछ । जस्तासुकै कम्पनी बजारमा आउने र संस्थापकको आफ्नो सेयर सर्वसाधारणलाई भिडाएर बजार धरासयी बनाउने गलत हर्कत हुन थालेपछि बोर्डले कडाइ गर्न थालेको हो ।
धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली परिमार्जन गर्दैछ । नियमावली संशोधनका लागि गठन भएको समितिले आईपीओ निष्कासनका लागि पूरा गर्नुपर्ने मापदण्डमा केही थप व्यवस्थाहरु गर्न लागेको हो । त्यसमा नेटवर्थ पनि एउटा मापदण्ड हुनेछ ।
‘नेटवर्थ मात्रै नभएर कम्पनीको वित्तीय स्थिति, आईपीओ जारी गर्नुका उद्देश्यमा समेत स्पष्टता जरुरत देखिएको छ, यी विषय अहिले छलफलकै क्रममा छन्’ स्रोतले भन्यो ‘तर अब मापदण्ड तोकिनेमा द्धिविधा छैन ।’
त्यस्तै अर्को मापदण्ड भनेको बजारमा आउने कम्पनीले कुल जारी हुने सेयरमा न्यूनतम २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउनुपर्ने व्यवस्था गरिने भएको छ । हालसम्म नियामकले गरेको व्यवस्थाबाहेक सूचीकृत हुने कम्पनीले न्यूनतम १० प्रतिशत सेयर मात्रै सर्वसाधारणलाई जारी गरे पुग्ने व्यवस्था छ, बाँकी ९० प्रतिशत संस्थापक समूहको हुन्छ ।
सर्वसाधारणको सेयर हिस्सा बढाउँदा बजारमा हुन सक्ने कर्नरिङको विकृति घटाउन मद्दत पुग्नेछ । ‘सुरुमा थोरै सेयर कारोबारमा आउँदा मूल्य अस्वभाविक बढ्ने गरेको पाइन्छ, यसलाई नियन्त्रण गर्न पनि सर्वसाधारण समूहको सेयर संख्या बढाउन आवश्यक देखियो’ स्रोतले भन्यो । यसमा पनि ठूलो पूँजी भएका कम्पनीका हकमा २० प्रतिशत तथा साना कम्पनीका हकमा अझ बढाउनेगरी गृहकार्य भइरहेको छ ।
अहिले बैंक, बीमा तथा वित्तीय क्षेत्रका कम्पनीबाहेकले सर्वसाधारणलाई १० प्रतिशत मात्रै सेयर दिएर बजारमा आउन पाउने व्यवस्था छ । यो व्यवस्थाका कारण बजारमा कर्नरिङ बढ्दो छ ।
पछिल्ला केही वर्षदेखि नै व्यवसायिक प्रयोजनका लागि आवश्यक भएर नभई सेयर बेचेर कमाउने गलत मनसायले सार्वजनिक निष्कासन हुन थालेको पूँजी बजार विज्ञ डा. गोपाल भट्ट बताउँछन् । ‘कम्पनीबाट नाफा नहुने देखेपछि आफू मुक्त हुनका लागि सेयर निष्कासन गर्ने मनसाय नै गलत हो’ भट्टले भने । अन्य मुलुकहरुमा पूँजी जुटाउनका लागि बोन्डलाई बढी जोड दिने गरिएको उनी बताउँछन् ।
त्यस्तै अब अंकित मूल्य १ सयभन्दा कम हुनेगरी कम्पनीले आईपीओ निष्कासन गर्न पाउने छैनन् । ‘एउटा कम्पनीले अंकित मूल्य ५० मा सेयर जारी गर्न आवेदन दिएको थियो, त्यसलाई फिर्ता पठाइएको छ, अब १ सयभन्दा तलको मूल्यमा जारी हुँदैन’ स्रोतले भन्यो ।
यसअघि हाथवे इन्भेस्टमेन्ट कम्पनीलाई अंकित मूल्य ५० मा सेयर जारी गर्न दिएर चलखेलमा बोर्डले नै सघाउ पुर्या्एको थियो । प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य पछिल्लो पटक बजारमा १ हजार ३३९ रुपैयाँ छ, जुन २६ गुणा महँगो हो ।
आम कारोबारी तथा लगानीकर्ताले यसको अंकित मूल्य १ सय सरह नै ठान्ने गरेका छन् । यहीं कारण संस्थापकलाई पनि यस्ता कम्पनीमा ठूलो चलखेर गर्ने र आफूले पर्याप्त नाफा लिएर सर्वसाधारणलाई सेयर बेचेर बाहिरिन सहज हुने गरेको छ । त्यस्तै सोल्टी होटलको अंकित मूल्य १० रुपैयाँ मात्रै हो, बजार मूल्य अहिले ४८० रुपैयाँ छ । अनलाइन खबरबाट सभार ।