दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा हेटौंडामा दीप प्रज्वलन

हेटौंडा । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै हेटौंडामा दीप प्रज्वलन गरिएको छ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा बुधबार हेटौंडाको बुद्धचोकमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मकवानपुरका सञ्चारकर्मी, महासंघका पदाधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली सभामा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाई लगायतका सञ्चारकर्मीहरूले दिवंगत पत्रकार रजकको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।
महासंघले पत्रकार रजकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तीनकुनेको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई निशाना बनाउने अराजक समुहमाथि कडा कारबाहीको माग समेत गरेको छ।