भीमफेदीका अगुवा कृषक भ्रमणको बस बकैयामा दुर्घटना

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमणमा गइरहेको बस दुर्घटनामा परेको छ।
बुधबार राति करिब ९:३० बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस सडकको घुम्तीमा अचानक अनियन्त्रित भइ दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हातिसुडेबाट प्रहरी नायव निरीक्षक जनकबहादुर तामाङ र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षक रामशरण दुलालको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए । टोलीले घटनास्थलमा पुगेर सबै घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पतालतर्फ पठाएको जनाएको छ ।
घटनास्थलमै केही घाइतेहरूको अवस्था गम्भीर देखिएको प्रहरीले जनाएको छ। हालसम्म बसमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। दुर्घटनाले सडक अबरुद्ध भने हुन नपाएको र बस घटनास्थलमै रहेको प्रहरी जानकारी दिएको छ। घाइतेहरूको विवरण संकलन कार्य जारी रहेको छ।