मकवानपुरको कुन पालिकामा राजश्व बाँडफाँड अनुदान कति ?

हेटौंडा । मकवानपुरका १० पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार मार्फत् १ अर्ब २३ करोड २२ लाख रुपैयाँ राजश्व बाँडफाँडबाट अनुदान पाउने भएका हुन् ।
चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो । मकवानपुरको १० पालिका मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरले २२ करोड ८५ लाख र सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।
थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९करोड ६७ लाख, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपैयाँ पाउने जानकारी दिए ।
भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले राजश्व बाँडफाँडमार्फत् १४ करोड ६ लाख रुपैयाँ बजेट पाउने भएका छन् ।
मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपैयाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बाँडफाँट हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपैयाँ हुन आउँछ ।
संघीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक उत्पादनमा लाग्ने मूल्यअभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कबाट उठेको रकम बाँडफाँट गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्छ । बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५-१५ प्रतिशतका दरले बाँडफाँट गरिन्छ । सवारीसाधन कर प्रदेशले उठाउने गर्छ ।