चेसका नयाँ खेलाडी उत्पादन गर्न हेटौंडामा प्रशिक्षण

हेटौंडा । बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले हेटौंडा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
बिहिवार हेटौंडा -४ वडा कार्यालय अगाडिको भवनमा बागमती प्रदेशका पुर्व मन्त्रि एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले प्रशिक्षण तथा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रशिक्षणको उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले क्लबले सुरु गरेको यो प्रयासले स्थानीय स्तरमा बुद्धिचाल खेलप्रति बढ्दो चासो र आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गरेका छन् ।
यस प्रकारको पहलले न केवल बुद्धिचाल खेलको विकासमा टेवा पुर्याउनेछ, तर मानसिक क्षमताको विकासमा पनि ठूलो योगदान पुर्याउने प्रदेश सभा सदस्य श्रेष्ठले बताए ।
बागमती प्रदेश सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा सुरु गरिएको यो कार्यक्रमले स्थानीय तहमा बुद्धिचाल खेललाई संस्थागत र व्यवस्थित रूपमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्लबले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा विभिन्न उमेर समूहका ३० जना विद्यार्थीहरूलाई सहभागी गराइएको छ।
विशेषगरी एसईई दिएर बसेका विद्यार्थी तथा बिध्यालयमा आध्ययनरत विद्यार्थीलाई लक्षित गरि प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरिएको छ ।
प्रशिक्षित कोचहरूको निगरानीमा सञ्चालन भइरहेको प्रशिक्षणले शारीरिक खेलकुदसँगै मानसिक खेलको पनि महत्व दर्शाउँदै आएको छ।
आजदेखी सुरु भएको प्रशिक्षण ०८२ जेठ मसान्तसम्म सञ्चालन हुनेछ भने ०८२ असार ४ गतेदेखि ७ गतेसम्म प्रशिक्षणमा सहभागीबिच प्रतियोगिता हुने क्लबका अध्यक्ष धरम लामाले बताए ।
क्लबका अध्यक्ष लामाका अनुसार, “बुद्धिचाललाई विद्यालय तहदेखि लोकप्रिय बनाउने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यमा छौं।”
हेटौंडा चेस क्लब विगत केही वर्षदेखि चेस खेलमा सक्रिय रहँदै आएको छ। यस क्लबले जिल्ला तथा प्रदेश स्तरमा थुप्रै प्रतियोगिता आयोजना गर्दै आएको छ, जसले गर्दा स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा अभ्यस्त गराउन सघाएको छ।
क्लबले भविष्यमा अझ व्यापक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ, जसले राष्ट्रिय स्तरमा प्रतिभावान खेलाडीहरू उत्पादन गर्ने आशा गरिएको छ।