मदन भण्डारी प्रतिष्ठानमाथिको आक्रमण दुर्भाग्यपूर्ण : सिग्देल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ४ का वडा अध्यक्ष नवीन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको हेटौंडा अस्पतालमाथि हाल उत्पन्न भइरहेका विवादप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “किन प्रगति देख्न सक्दैनन् मान्छेहरू?” भन्ने प्रश्न गर्दै प्रदेश सरकारले प्रदेशसभाबाट सर्वसम्मत निर्णयमार्फत करिब ६ वर्षअघि स्थापना गरेको प्रतिष्ठानमाथि नचाहिने विवाद झिकिनु अनुचित भएको टिप्पणी गरेका छन्।
सिग्देलका अनुसार, प्रतिष्ठानले स्थापना पछिको छोटो अवधिमा नै स्वास्थ्य सेवा क्षेत्रले उल्लेखनीय सुधार गरेको छ र मकवानपुरबासीको विश्वास जित्न सफल भएको छ। उनले विगतमा बदनाम रहेको हेटौंडाको स्वास्थ्य क्षेत्र आज प्रतिष्ठानको आडमा शिर उचो बनाइरहेको दाबी गरेका छन्।
“हिजो स्वास्थ्य क्षेत्रमा बदनाम हेटौंडा आज प्रतिष्ठानको स्थापनापछि सानका साथ शिर उँचो बनाएको छ,” उनले लेखेका छन्।
अध्यक्ष सिग्देलले स्वास्थ्य जस्तो पवित्र क्षेत्रलाई फोहोरी राजनीतिको शिकार बनाउन खोजिएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, यो विषयमा गम्भीर बहस र सुझाव दिन सकिन्छ, तर बेकारका विवाद सिर्जना गरेर प्रतिष्ठानमाथि आक्रमण गर्नु दुर्भाग्यपूर्ण छ।
उनले देशका परिवर्तनकारी नेतामध्ये स्वर्गीय मदन भण्डारीलाई अब्बल विचारकको रूपमा स्मरण गर्दै, उहाँको नाममा स्थापना गरिएको प्रतिष्ठानलाई विवादमा तान्नु स्व. भण्डारीको योगदान र सम्मानप्रतिको अनादर भएको बताएका छन्।
“यदि मदन भण्डारीको नाम र एमालेप्रति रिस हो भने पनि, नेकपा एमाले स्व. कमरेड मदन भण्डारी, स्व. पुष्पलाल श्रेष्ठ र स्व. मनमोहन अधिकारीले देखाएको बाटोमा हिँडेर अझ राम्रो काम गर्दै जाने छ,” सिग्देलले स्पष्ट पारेका छन्।
उनको भनाइ अनुसार, मकवानपुरका हर्नामाडि, हटिया, बसामाडि, चुरियामाई, र पदमपोखरी गाविसलाई समेटेर बनेको आजको हेटौंडाले विकासको गति लिन सक्नुमा दृष्टिकोण र सोचको ठूलो भूमिका रहेको छ।