सैलुनलाई एसी सहयोगको तोकादेशले हेटौँडा उपमहानगरपालिका विवादमा

अखबार हब
२०८२ बैशाख ४, बिहीबार १५:०६

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी सैलुन व्यवसायलाई एसी सहयोगको सन्दर्भमा दिएको तोकादेश अहिले सामाजिक सञ्जालमा चर्को बहसको विषय बनेको छ।

विवादको सुरुवात हेटौँडा–४ मा सञ्चालनमा आएको ‘द नाइन्टिन सैलुन’ को उद्घाटन कार्यक्रमबाट भएको हो। सो अवसरमा प्रमुख अतिथि रूपमा सहभागी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले, “यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु,” भन्ने वाचा गरेकी थिइन्।

उनको उक्त अभिव्यक्तिलाई आधार बनाएर सैलुन सञ्चालक सुसन घलानले एक थान एसी र एक थान इन्भर्टरको माग गर्दै उपमहानगरमा निवेदन दिए। निवेदनपछि उपमहानगरले माग गरिएको सामग्रीको लागत अनुमान तयार पार्न सम्बन्धित निकायलाई तोकादेश दिएको थियो। यही तोकादेश सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसले व्यापक चर्चा पायो।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले स्थानीय सरकारले निजी व्यवसायलाई सुविधा दिनु सुशासनको मर्म विपरीत रहेको भन्दै आलोचना गरेका छन्। उनीहरूले करदाताको रकम निजी प्रयोजनमा खर्च गर्न खोजिएको आरोप लगाइरहेका छन्।

तर अर्कोतर्फ मेयर लामा समर्थकहरू भने युवाले थालेको स्वरोजगारलाई सहयोग गर्नु सकारात्मक कदम भएको जिकिर गर्छन्। उनीहरूका अनुसार यस्ता व्यवसायलाई प्रोत्साहन दिनु सरकारको जिम्मेवारी हो।

यस विषयमा हेटौँडा उपमहानगरपालिकाले आधिकारिक धारणा नदिए पनि, वडा नम्बर १ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेले भने प्रतिक्रिया दिएका छन्। “गरिखाने युवालाई सहयोग गर्न खोज्दा आलोचना भएको हो,” उनले भने, “अहिले त मागअनुसार लागत अनुमान मात्र तयार गर्न भनिएको हो, दिने या नदिने निर्णय भइसकेको छैन।”

एसी विलासितासँग जोडिएको उपकरण भएकाले विषयले बढी चर्चा पाएको पनि प्रवक्ता न्यौपानेको तर्क छ।

अब उपमहानगरको अन्तिम निर्णय के हुने हो, त्यसले यस विवादको दिशा निर्धारण गर्ने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published.


*