मकवानपुरगढीमा इभी गाडी दुर्घटना : दुईको मृत्यु, १४ घाइते

अखबार हब
२०८२ बैशाख ५, शुक्रबार ०७:१३

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ धरमपानीमा इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको गाडी आज बिहान १ बजेतिर करिब २०० मिटर तल खसेको थियो। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको र घाइतेहरुको उद्दार गरी हेटौँडा अस्पताल तथा अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुसी मगरको शव बिहान ५:३० बजे दुर्घटनास्थल नजिकको खोल्सामा फेला परेको थियो।

अन्य १४ जना घाइतेमध्ये ११ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ। चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमल बहादुर दर्लामी पनि घाइते अवस्थामा उपचाररत छन्। उनका अनुसार गाडीमा चालकसहित १६ जना सवार थिए।

घाइतेहरूमध्ये केहीको उपचार हेटौंडा अस्पतालमा तथा अन्यको मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ। प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको कमाण्डमा घटनास्थलमा खटिएको टोलीले तत्काल उद्दार कार्य सम्पन्न गरेको थियो।

दुर्घटनाको कारण खुल्न नसके पनि विस्तृत अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*