चित्लाङ–थानकोट सडकमा चल्न थाले सवारीसाधन
मकवानपुर । सडक निर्माणका क्रममा पटकपटक अवरोधका कारण अलपत्र चित्लाङ–थानकोट सडक खण्ड (गणेशमान सिंह मार्ग)मा सवारी साधन चल्न थालेका छन् ।
स्थानीयले ६९ वर्षअघि सामान्य ट्रयाक बनाएको मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकालाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने उद्देश्यले २०७० बाट पक्कि निर्माण सुरु गरिएको सडकमा गल्छी, पहरा, खोल्छा र घुम्तीहरुलाई छिचोलिएपछि दसैंअघिबाट सवारी साधन चल्न थालेका हुन् । शताब्दीअघि भरियाले गाडि बोकेर काठमाडौँ पु¥याउने बाटोमा अहिले सरर गाडी गुड्न थालेपछि थाहा नगरबासीसँगै तराइहुँदै काठमाडौं जाने यात्रुका लागिसमेत सहज भएको थाहा–९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले बताए ।
‘दसैंअघिबाट यो मार्गमा सवारीसाधन चल्न थालेपछि तराइबाट हेटौंडाहुँदै काठमाडौं जाने यात्रुको संख्यासमेत बढेको छ ।’ उनले भने, ‘यसअघि पनि सडक सुचारु भएपनि निर्माणका क्रममा भत्काइएका पाखापहराका ढुंगा नहटाउँदा समयसमयमा अवरोध हुने गरेको थियो ।’ यसअघि चित्लाङ–थानकोट सडकको नौखण्डे–चन्द्रागिरी खण्डमा गाडि गुडाउन योग्य भएपनि विविध कारण चन्द्रागिरी–पानीघाट खण्डमा उल्झन समस्या भइरहेको थियो । चित्लाङ–थानकोट सडक आयोजनाले निर्माण कम्पनीलाई ६ महिनाअघि नै दसैं अगावै गाडि गुड्न सक्नेगरी काम गर्न निर्देशन दिएको थियो ।
आयोजनाले मार्गको काठमाडौंतर्फ पानीघाटदेखि देउरालीसम्मको २.५ किलोमिटरको चट्टानी पहाड कटिङ् गर्न समस्या भएकोले केहि समय ढिलाइ भएको जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म उक्त सडक योजनामा करिब ४५ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको तथ्यांक छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि ६ महिनाभित्र सडक निर्माणको लागि सबै स्थानमा ट्रयाक निर्माण सक्न निर्देशन दिएको थियो । २०१३ सालमा त्रिभुवन राजपथ निर्माणपछि काँधमा गाडी बोक्ने बाध्यता हट्यो । स्थानीयले २०१८ देखि २०२२ सम्म गाडी बोक्ने गोरेटोलाई जनश्रमदानबाट चित्लाङ–थानकोट मार्गको निर्माण गरेका थिए । सरकारले सोहि मार्गलाई २०६२ देखि यो निर्माणको योजना अघि बढायो । २३ सय वर्ष पुरानो चित्लाङमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई जान चन्द्रगिरी डाँडा पार गर्दै चित्लाङ भएर जान्थे । स्थानीयहरुले भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरीहुँदै काठमाडौंमा गाडी बोकेर लैजाने गरेका थिए । आजको साझाकुरा दैनिकबाट