दिव्यतारा बहुउद्देश्यीयको लगानी ९१ करोड ३२ लाख रुपैयाँ
मकवानपुर । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिका २ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको आज २३ औं वार्षिक साधारणसभा भएको हो ।
सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मा देवी कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
सहकारीकी अध्यक्ष उपाध्यायले दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरको अग्रस्थानमा रहँदै अब बागमती प्रदेशकै अग्रणी सहकारीको रुपमा स्थापित हुने बताए । आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ७ सय ८६ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ११ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएको छ । सहकारीले ५१ करोड ४२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ९१ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
सामुदायिक रेडियोसमेत सञ्चालन गरिरहेको सहकारीले खाद्य तथा तेल उद्योग, सहकारी उपभोक्ता पसल, साबुन उद्योग, गोलभेँडा प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीले हेटौंडा–२ स्थित मुख्यालयसहित जिल्लाभित्र १० वटा र ललितपुरको बागडोल तथा चितवनको भरतपुर–१०, चौबीसकोठीमा पनि सेवा केन्द्र सञ्चालन गरेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी, सदस्य परिवारबाट एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।