अग्रवाल दाजुभाइ डेढ अर्ब कुम्ल्याएर फरार
काठमाडौं । एकपछि अर्को ठगीका प्रकरण बाहिरिने क्रमसँगै अहिले पुनः नेपालमा तीन दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा बिक्री गर्दै आएका अभिषेक अग्रवाल र अमित अग्रवाल झन्डै डेढ अर्ब रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । उनीहरूले ग्रिन लाइन, अभिअमी, भिन्याट स्टोर्स तथा मदिरा बिक्री सेन्टर प्रालिलगायतका फर्म सञ्चालन गरी अहिले ती फर्मका सञ्चालक अग्रवालद्वयले स्वदेशी बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा कर्जा लिएर फरार भएको पाइएको छ ।
मदिरा आयात तथा बिक्री कारोबारमा राम्रो जमेका उनीहरू बैंक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग ठूलो रकम ऋण लिएर भागेको समाचार स्रोतको भनाइ छ । स्रोतका अनुसार उनीहरूले बैंक तथा वित्तीय संस्था, सहकारी र व्यक्तिसँग गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर भागेका हुन् ।
उनीहरू ऋण लिएर भागेसँगै इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले उनीहरूको व्यापार स्थलत तथा सम्पत्तिमा सूचना टाँस गरिसकेका छन् भने ऋण दिएका अन्य बैंकले पनि धमाधम सूचना टाँस्ने प्रक्रिया अघि बढाएका छन् ।
काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजुभाइ हुन् । जनकपुर निवासी उनीहरूको परिवारलगायत अन्य आफन्त पनि भारतमा बसोबास गर्दै आएको समेत समाचार स्रोतले जानकारी दिएको छ । उनीहरूको मुख्य व्यवसाय भनेको मदिरा आयात तथा विदेशी मदिरा बिक्री नै थियो । उनीहरूले अभिअमि, ग्रिनलाइनलगायत मदिरा स्टोर्समार्फत नै व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
समाचार स्रोतका अनुसार उनीहरूलाई एभरेस्ट बैंकले २२ करोड रुपैयाँ कर्जा दिएको थियो भने इन्भेस्टमेन्ट बैंकले २५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । तर, यस विषयमा विस्तृतमा बुझ्न खोज्दा हाल यी दुवै बैंकले जानकारी दिन चाहेनन् । यसैगरी, मेगा बैंकले पनि यी फरार व्यक्तिलाई ठूलो मात्रामा कर्जा लगानी गरेको बुझिएको छ ।
हाल अग्रवाल दाजुभाइले आपूmहरूबाट कर्जा लिएको र उनीहरूका नाममा रहेको सम्पत्तिमा आफ्नो हक रहेको भन्दै सूचना टाँस गरेका एभरेस्ट र इन्भेस्टमेन्ट बैंकले ग्रिनलाइन सेन्टरलगायत मदिरा आउटलेटमा चाबी लगाएर सेक्युरिटी गार्डसमेत राखेका छन् । उनीहरूले गत बुधबारदेखि नै ती मदिरा बिक्री सेन्टर तथा सम्पत्तिमा चाबी लगाएर सूचना टाँस गर्दै सो स्टोर सुरक्षाका लागि सेक्युरिटी गार्डसमेत राखेका हुन् ।
त्यहाँ खटिएका सेक्युरिटी गार्डका अनुसार पछिल्लो समय नेपाल बंगलादेश बैंक र नेपाल बैंकसमेत अग्रवालद्वयले विभिन्न बैंकबाट ठूलो मात्रामा कर्जा लिएको भन्दै बुझ्न आएका छन् ।
बैंक तथा वित्तीय संस्था र व्यक्तिको ठूलो मात्रामा कर्जा लिएर भागेका अग्रवालद्वयले आफ्नो डिलिस्ट्रीलरीसमेत बिक्री गरेका छन् । उनीहरूले केही समयअघि मात्रै सागर डिलिस्ट्रीलरी ब्रोकर नम्बर ५८ का सञ्चालकलाई बिक्री गरेका थिए । उनीहरू कतिपय आफ्नो सम्पत्तिसमेत बिक्री गरेर भागेको समेत समाचार स्रोतले जानकारी दिएको छ ।
बैंकहरूले अग्रवालाई धितोको आधारभन्दा पनि व्यवसायको आधारमा कर्जा लगानी गरेका कारण उनीहरू भाग्दा बैंक नै समस्या पर्ने देखिएको छ । अग्रवालले बैंकबाट व्यवसायको आधारमा कर्जा लिएको कारण उनीहरूले कर्जा लिँदा कर्जाको तुलनामा ज्यादै न्यून आकारमा धितो राखेका छन् । यदि बैंकहरूले अग्रवालबाट कर्जा असुली गर्न नसकेको खण्डमा उनीहरूमाथि कर्जा लगानी गर्ने बैंक नै समस्यामा पर्ने सम्भावना उच्च रहेको समाचार स्रोतले जानकारी दिएको छ ।
समाचार स्रोतका अनुसार उल्लेखित बैंकहरूले अग्रवालद्वयको नाममा करिब १ अर्ब रुपैयाँ कर्जा दिएका छन् । अग्रवाल भागेसँगै उनीहरूलाई ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाले फसेको कर्जा रकम उठौतीका लागि दौडधुप गर्न थालेका छन् । विशेषगरी, एभरेस्ट र इन्भेस्टमेन्ट बैंकले अग्रवालको सम्पत्तिमा सूचना टाँस गर्दै हिँडेका छन् । दुवै बैंकले कान्तिपथमा रहेको ग्रिनलाइनलगायतका स्थानमा संयुक्त रूपमा समेत सूचना टाँस गरेका छन् ।
उनीहरूले अग्रवालको ज्ञानेश्वरस्थित करिब १७ आना जग्गामा बनेको घर, अपार्टमेन्टलगायतका स्थानमा संकेत सूचना टाँस गरेका छन् । अग्रवालले बैंकसँग धितोभन्दा बढी व्यवसायको आधारमा बढी कर्जा लिएको बुझिएको छ । कतिपय बैंकले कर्जाको एक तिहाइ पनि धितोसमेत नराखेको सो समाचार स्रोतले जानकारी दिएको छ ।
यदि उनीहरूले अबका दिनमा अग्रवाललाई पक्राउ गरी कर्जा उसुली गर्न नसकेको खण्डमा बैंकको लगानीसमेत डुब्ने सम्भावना उच्च रहेको छ । विषेगरी, बैंकहरूले अग्रवाललाई प्लेज लोन दिएकाले पनि कर्जा उठौतीमा समस्या उत्पन्न हुने देखिएको समेत समाचार स्रोतको दाबी छ ।
यसैगरी, उनीहरूले सहकारीबाट समेत कमसल धितो तथा व्यवसायको आधारमा कर्जा लिएको समाचार स्रोतले जानकारी दिएको छ । त्यसैगरी, उनीहरूले पछिल्लो समय गलत मनसायले बैंकमा धितोमा रहेको जग्गा तथा फ्ल्याटसमेत बैंकबाट फुकुवा गरेर बिक्री गर्छु भन्दै एउटै जग्गाका लागि धेरै जनासँग बैनाबापत ठूलो रकम असुली गरेको बुझिएको छ । हाल त्यस्ता व्यक्तिसमेत बैंकले सूचना टाँस गरेसँगै दैनिक रूपमा बुझ्न आउन थालेका छन् । यसैगरी, उनीहरूले मिटर ब्याजमा समेत करोडौं रुपैयाँ उठाए भागेको सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ ।
सहकारी, जग्गाको बैना र मिटरब्याजीमा मात्रै करिब १ अर्ब रुपैयाँको हाराहारीमा ऋण लिएको हुन सक्ने समाचार स्रोतको दाबी छ । अग्रवालले गलत मनसायबाटै विभिन्न बैंक, सहकारी र व्यक्तिमार्फत ठूलो रकम ऋण लिएको र त्यसरी कर्जा लिएको रकम देशबाहिर लगेको हुन सक्ने सम्बद्ध स्रोतको दाबी रहेको छ ।
राष्ट्र बैंकले ऋणको विवरण माग्यो
नेपाल राष्ट्र बैंकले वित्तीय संकटमा फसेको ग्रिनलाइन सेन्टर प्रालिलाई बैंकहरूले दिएको विवरण मागेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ग्रिनलाइनलाई बैंकहरूले दिएको ऋणको विवरण माग गरेको जानकारी दिए ।
ग्रिनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि विभिन्न बैंकहरूको झन्डै ५ अर्ब रुपैयाँ फसेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले हाइपोथेकेसन कर्जा दिएको हुँदा ती स्टोर्स तथा कम्पनीको सोरुममा सूचना टाँस गरेका छन् ।
कम्पनी र यसका सञ्चालकलाई नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकसहित पाँचवटा बैंकले १ अर्ब ऋण दिएको खुलेको छ । ग्लोबल आईएमई बैंकले समेत सो कम्पनीका सञ्चालकलाई ऋण दिएको छ ।