गाउँमा पहिलो पटक एम्बुलेन्स आएसँगै मकरीका बासिन्दा हर्षित

अखबार हब
२०७८ फाल्गुन ९, सोमबार २०:०६

मकवानपुर । गाउँमा एम्बुलेन्स आएसँगै मकरीका बासिन्दा हर्षित भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा १ मकरीमा पहिलो पटक एम्बुलेन्स आएसँगै स्थानीय बासिन्द हर्षित बनेको हो ।

मनहरी–१ का वडा अध्यक्ष शिवप्रसाद खनालको विशेष पहलमा आज अजयराज सुमार्गीले उक्त एम्बुलेन्स वडा कार्यालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खनालले जानकारी दिए ।

स्थानीय रामकुमार उप्रेती भन्छन्–‘गाउँमा पहिलो पटक एम्बुलेन्स सेवा सजिलै उपलब्ध हुने भयो, अब एम्बुलेन्स नपाएर बिरामी समयमा अस्पताल नपुग्ने समस्या समाधान भएको छ ।’ ‘पहिले एम्बुलेन्स नपाएर बिरामीलाई अटो, रिक्सा, मोटरसाइकलबाट अस्पाताल पुर्याउन बाध्य थियौं, अब त्यो समस्या समाधान भएको छ’ उनले भने ।

वडा कार्यालयलाई प्राप्त उक्त एम्बुलेन्स मनहरी १ मा रहेको शान्ति स्ववलम्बन बहुउद्देश्यीय सहकारीलाई संचालनको जिम्मा दिइने वडा अध्यक्ष खनालले बताए ।

यस अघि चार वर्ष पहिले गाउँमा एम्बुलेन्स खरिद गर्न ‘सप्ताह’मार्फत संकलन भएको ९ लाख ४३ हजार रुपैयाँ अब वडाको भेलाले अन्य सामाजिक कार्यमा प्रयोग गरिने वडा अध्यक्ष खनाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*