१० बर्षसम्म अलपत्र मकवानपुरको बागमती पुल

अखबार हब
२०७८ फाल्गुन १२, बिहीबार ०८:०६

मकवानपुर । मदन भण्डारी राजमार्ग (धरान–चतरा–हेटौंडा) अन्तर्गत मकवानपुर–सिन्धुली जोड्ने बागमती पुल १० वर्ष ६ महिना नाघिसक्दा पनि पूर्ण निर्माण हुन सकेको छैन ।

पुलको ९० प्रतिशत काम भर्खरै सकिएपनि अझै १० प्रतिशत कामका लागि ठेकेदार कम्पनी स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले बैशाख मसान्तसम्म समय लिएको छ । धरान–चतरा–हेटौंडा सडकखण्ड अन्तर्गत मकवानपुर पूर्वी क्षेत्र बागमती गाउँपालिका–४ फापरबारी र सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ जोड्न निर्माण गरिएको पुल सबैभन्दा ठूलो, लामो र बढी लागतको बलियो संरचना हो । राजमार्गमा ३४ वटा पुल निर्माण हुनेछन् ।

२९ असार २०६८ मा पाँच वर्षमा निर्माण सक्ने गरी ठेक्का दिइएको बागमती पुल १० वर्ष ६ महिना समयसँगै हालसम्म १८ करोड ५१ लाख रुपैयाँ खर्चिंदा पनि पूर्ण निर्माण हुन नसकेको हो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको पुल निर्माणपछि मकवानपुर–सिन्धुली सिधा जोडिने छ अन्तिम छैठौं पटकको म्याद २०७८ चैत ३० गते सकिनेछ । सरकारले पटक–पटक समयसीमाभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता र कार्ययोजनासहित निर्माण कम्पनीले आयोजना कार्यालयमा लिखित प्रतिबद्धता गरेको थियो ।

पछिल्लो पटक २०७८ साल असारसम्म म्याद थपिएको थियो । कोरोना महामारीका कारण समयमै काम हुन नसकेको भन्दै निर्माण कम्पनीले २०७८ चैतसम्म समय मागेको थियो । तर, अहिले निर्माण कम्पनीका संचालक जयराम लामिछानेले २०७९ बैशाख मसान्तभित्र पुल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । उनले पुलमा कालोपत्रे, रंगरोगन र केहि प्राविधिक काम बाँकी रहेको भन्दै बैशाखमा मात्र पुल हस्तान्तरण गर्न सकिने मदन भण्डारी राजमार्ग आयोजनालाई जानकारी गराएका छन् ।

स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले पुल निर्माणका लागि १० वर्षअघि सरकारले लागत अनुमान गरेको मूल्यभन्दा ४३ प्रतिशत कम मूल्यांकनमा ठेक्का सम्झौता गरेको थियो ।

सरकारले ४२ करोड ८ लाख गरेपनि निर्माण कम्पनीले त्यसबेला ४३ प्रतिशत कम मूल्यांकन अर्थात २३ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको हो । अहिले ९० प्रतिशत काम सकिएको अवस्थामा १८ करोड ५१ लाख रुपैयाँ खर्चिएको आयोजनाका इन्जिनियर निराजन थापाले बताए । उनका अनुसार कामको तीब्रता र प्रगति कमजोर भएपछि आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेश्की बापतको एक वर्षअघि २ करोड ६१ लाख रुपैयाँ फिर्ता लिएको थियो ।

पुल समयमै निर्माण नहुँदा पुलमा भर्याङको सहायता लिनु पर्ने समस्या थियो । पक्कि पुल पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि बर्षायाममा स्थानीयले पुलमा भर्याङ लगाउनुपर्ने बाध्यता थियो ।

पुल वारपार गर्न भ¥याङको सहारा लिनुपर्ने बाध्यतासमेत भोग्नु परेको स्थानीयको गुनासो छ । पुलको दुबैतर्फको काम सम्पन्न नहुँदा बखत स्थानीयले वारपार गर्न भर्याङको सहारा लिएका हुन् । पुल नबन्दा पाँच सय रुपैयाँसम्म तिरेर खोला वारपार गर्न बाध्य भएको स्थानीय गजेन्द्रबहादुर राईले स्मरण गर्दै भने, ‘ट्युबबाट मोटरसाइकल खोला पार गर्दा एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो ।’ हिउँदको समयमा खोलाबाट ठूला यातायात सञ्चालन भए पनि साना सवारी चलाउन कठिन हुने गरेको उनले गुनासो सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*