आत्महत्या गर्नेको संख्या विश्वमै कहालीलाग्दो, नेपालमा पनि उस्तै
काठमाडौं । कुनै पनि समस्या र पीडा नभएको मान्छे सायदै होलान् । सानादेखि ठूला उमेर समूहका सबैलाई विभिन्न समस्याले घेर्छ । चाहे त्यो धनी होस् या गरिब, ठूला होउन् वा साना सबैलाई केही न अप्ठेरो हुन्छ नै । उसो त जन्मने बितिक्कै मानिसलाई विभिन्न समस्याले घेर्न थाल्छ । तर समस्याबाट बच्न धेरैले त्यसको समाधानभन्दा मृत्युलाई रोज्न थालेका छन् ।
यहिकारण आत्महत्याबाट मृत्यु रोज्नेको संख्या विश्वमा बढ्दो छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले उपलव्ध गराएको तथ्यांक हेर्दा यसको अवस्था कहालीलाग्दो नै छ । संगठनका अनुसार प्रत्येक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् । यसमा पनि आत्महत्याको प्रयास त्योभन्दा निकै धेरै हुन्छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्याबाट मृत्यु रोज्ने गरेको पाइन्छ ।
यो बाहेक, प्रत्येक आत्महत्याको लागि २० भन्दा बढी आत्महत्याका प्रयासहरू हुने गरेका छन् । अझ १५ देखि २९ वर्ष समूहमा चौथो प्रमुख कारण आत्महत्या नै रहेको छ । विश्वका हरेक क्षेत्रमा आत्महत्या हुने गरेको छ । विश्वव्यापी आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएका देशहरूमा हुन्छन् ।
विश्वभर हुने सबै मृत्युको १ दशमलव ३ प्रतिशत आत्महत्याले ओगटेको छ । सन् २०१९ मा मृत्युको १७ औं प्रमुख कारण आत्महत्या थियो । अहिले हाम्रो मुलुकमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ । कोरोना माहामारीले ल्याएको समस्याका कारण पनि धेरैले आत्महत्याको बाटो रोज्न पुगेका छन् । त्यसमा अभिनय क्षेत्रदेखि लिएर विद्यार्थीसम्म देखिन्छन् । गत असारमा नायिका जेनी कुँवरले आत्महत्या गरिन् । नयाँ बानेश्वर थापागाउँ नजिकैको सनराइज सिटी अपार्टमेण्टमा भुण्डिएको अवस्थामा कुँवर फेला परेकी थिइन् । पछिल्लो समय उनी डिप्रेसनमा रहेको उनी निकटस्थहरुले बताएका थिए ।
असोजमा बाँकेको कोहलपुरस्थित दीपज्योति सेकेण्डरी स्कुलबाट अघिल्लो वर्ष एसईई परीक्षा दिएकी एलिसा शाहले असोज ७ गते आत्महत्या गरिन् । सोही स्कुलका प्रिन्सिपल दमन पाण्डेलाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ पनि गर्यो । यस्तै गत पुसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले संघीय प्रहरी कार्यालय (पूरानो अञ्चल प्रहरी कार्यालय) भैरहवास्थित आफ्नै क्वार्टरमा झुण्डिएर मृत्यु रोजे ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको गत पुससम्म तीन हजार एक सय ७८ जनाले आत्महत्या गरेका छन् । जसमा एक हजार सात सय ६१ जना पुरुष, एक हजार एक सय ४ जना महिला, एक सय ९६ बालिका र एक सय ३१ बालक छन् । आत्महत्याका प्रकारमा विष खाएर, आगो लगाएर, झुण्डिएर, हातहतियार प्रयोग गरेर, हाम्फालेर, डुबेर, करेन्ट लगाएर र आत्महत्या दुरुत्सान रहेका छन् । सो अवधिमा आत्महत्या दुरुत्सानका कारण एक सय ४ जनाले आत्महत्या गरेका छन् । जसमा महिलाको संख्या उच्च देखिन्छ ।
७९ जना महिलाले दुरुत्सानका कारण प्राण त्याग्दा २० पुरुष, ३ बालिका र २ बालकले प्राण त्यागेका छन् । यस्तै आर्थिक वर्ष २०७६\७७ मा छ हजार दुई सय ५२ जनाले आत्महत्या गरेका थिए भने गएको आर्थिक वर्ष २०७७\७८ मा सात हजार एक सय ४१ जनाले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार हरेक वर्ष आत्महत्याका घटना बढिरहेका छन् ।
आत्महत्याका विभिन्न कारण छन् तर मुख्य जड भनेको मानसिक तनाव नै हो । आर्थिक अवस्था खस्किँदै जानुले, प्रेममा धोका तथा परीक्षामा राम्रो अंक नआउँदा र पारिवारिक समस्याले मानसिक तनाव भएर धेरैले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या र मानसिक विकारहरू ९विशेष गरी, डिप्रेसन र रक्सीको प्रयोग विकारहरू० बीचको सम्बन्ध जोडिएको पाइन्छ । थप जोखिम कारकहरूमा हानि, एक्लोपन, भेदभाव, सम्बन्ध विच्छेद, आर्थिक समस्या, दीर्घकालीन पीडा र रोग, हिंसा, दुव्र्यवहार र द्वन्द्व वा अन्य मानवीय आपतकालको अनुभव समावेश छ ।
आत्महत्याको निम्ति सबैभन्दा बलियो जोखिम कारक अघिल्लो आत्महत्या प्रयास भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । आत्महत्या र आत्महत्या प्रयासहरूले परिवार, साथी, सहकर्मी, समुदाय र समाजमा धेरै असर गर्दछ । संगठनले आत्महत्या रोक्न सकिने बताएको छ । व्यक्तिगत, समुदाय र राष्ट्रियस्तरमा आत्महत्या रोक्न धेरै कुरा गर्न सकिने विश्वको अनुभव छ । डब्लुएचओका अनुसार आत्महत्या रोकथाम प्रयासका लागि स्वास्थ्य क्षेत्र र शिक्षा, श्रम, कृषि, व्यापार, न्याय, कानुन, रक्षा, राजनीति र मिडिया जस्ता अन्य क्षेत्रहरूलगायत समाजका विभिन्न क्षेत्रहरूबीच समन्वय र सहकार्य आवश्यक देखिन्छ ।