हेटौंडाको आधुनिक कृषि थोक बजार निर्माणमा तीब्रता

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार ०८:००

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको अस्तव्यस्त कृषि बजारलाई व्यवस्थित बनाउन तथा किसानलाई प्रत्यक्ष लाभ उपलब्ध गराउन कृषि थोक बजार निर्माणलाई तीब्रता दिइएको छ ।

सरकारले कृषि उपजको उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतका सुविधासहित निर्माण गरिरहेको कृषि थोक बजारको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाली किसानको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको कृषि उपजको बजारीकरणको समस्या समाधान गर्न भन्दै तीनै तहको सरकारको पहलमा कृषि थोक बजार केन्द्र निर्माण प्रारम्भ भएको थियो ।

केन्द्र सरकारको समेत लगानी हुने र करिब ७० करोड लगानी गर्ने भनेर विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको भए पनि तत्काललाई केन्द्र सरकारले लगानी नगरेपछि लगानी घटाएर प्रदेश र स्थानीय सरकारले निर्माणलाई निरन्तरता दिएका छन् । हेटौँडा उपमहानगरपालिकाको समेत सहलगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार केन्द्र निर्माण कार्यले पछिल्लो समयमा गति लिएको प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

झन्डै साढे २८ करोड लागतमा निर्माणाधीन कृषि थोक बजार २०८१ भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने मन्त्रालयले विश्वास लिएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडा र उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । विसं २०८१ सम्ममा भवनलगायतका संरचना निर्माण सम्पन्न गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।

उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो सम्पन्न गर्न आफ्नो तर्फबाट पहल गरिरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । प्रदेश सरकारसँग सहकार्य गरेर भवन निर्माणको काम भइरहेको र यो उपमहानगरका लागि गौरवको योजना रहेको प्रमुख महतले बताए । कुल २८ करोड ३६ लाख ५५ हजार लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बताए ।

कृषि थोक बजारको काम समयमा नै सक्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । राजमार्गसँगै जोडिएको यस बजारका कारण देशभरिबाट तरकारी तथा फलफूल ल्याउन र अन्यत्र लैजानका लागि सहज हुने उनले बताए । ४० कठ्ठा चार धुर जग्गामा निर्माण गर्न लागिएको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ ।

यहाँ प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र विदेशमा समेत पठाउन सकिने व्यवस्था गरिने तयारी छ । शीतभण्डारसहित कृषि सुपरमार्केट निर्माण हुँदा किसानसहित सबैलाई फाइदा हुने प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक रवीन्द्रबहादुर प्रधानले बताए । कृषि थोक बजार सञ्चालन भएपछि कृषि बजारमा उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतका सुविधाको अपर्याप्तता र अभावको अन्त्य हुने प्रधानले बताए ।

निर्माण भएपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिने थोक बजारबाट कृषकले उचित मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय कृषिउपज पाउने पनि दाबी गरिएको छ । बजार आधुनिक तथा हरेक सुविधासम्पन्न हुने र किसानमैत्री हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*